अर्थ

न्यादी आयोजनाबाट मस्र्याङ्दीलाई रु १५ लाख रोयल्टी

न्यादी आयोजनाबाट मस्र्याङ्दीलाई रु १५ लाख रोयल्टी

लमजुङ। निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाले मस्र्याङ्दी गाउँपालिकालाई रु १५ लाख रोयल्टी रकम हस्तान्तरण गरेको छ । सो गाउँपालिकामा आफूले प्रयोग गरेको ढुङ्गा, गिटी, बालुवावापतको रोयल्टी रकम गाउँपालिकालाई प्रदान गरिएको हो ।


स्थानीय सरकार ऐन २०७४ मा व्यवस्था भएबमोजिम गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई उहाँकै कार्यकक्षमा बुटवल पावर कम्पनी लिमिटेडका उपमहाप्रबन्धक टीकाराम भट्टले सो रकमको चेक हस्तान्तरण गर्नुभयो । गाउँपालिकाभित्र सञ्चालित योजना वा आयोजनाले प्राकृतिक स्रोतसाधन उपयोग गरेवापत रोयल्टी उठाइने प्रावधानबमोजिम गाउँपालिकाले उक्त रकम लिएको अध्यक्ष गुरुङले बताउनुभयो । सो आयोजनाको निर्माण थालिएदेखि ढुङ्गा, गिटी, बालुवालगायत वस्तु उपयोग गर्दै आएकाले रोयल्टीवापतको सो रकम गाउँपालिकालाई उपलब्ध गराइएको उहाँको भनाइ छ ।अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङ जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका ६ मा निमार्णाधीन आयोजनाले विसं २०७३ चैतदेखि काम गर्दै आएको छ । अनुमानित रु ६ अर्ब लागतमा निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको आयोजनाको हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ ।(रासस)