समाचार

कम्यूनिष्ट मन्त्रीले कालो बोकाको बली दिए

कम्यूनिष्ट मन्त्रीले कालो बोकाको बली दिए

डडेल्धुरा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले घटालबाबा देवताले आफूलाई मन्त्री बनाएकोले चारवटा कालो बोकाको बली दिएका छन् ।

डडेलधुराको अमरगढी नगरपालिका ‐७ मा रहेको घटालबाबा मन्दिरमा मंगलबार मन्त्री भट्टले चार काला बोकाको बली दिएका हुन । उनी निकट स्रोतको अनुसार कसैले थाहा नपाउने गरी फटाफट बोका काटेर उनी घनगढी फर्किएका थिए । 

मन्त्री हुनु अघि मलाई मन्त्री पद दिलाउ प्रभु म हजुरको सेवा गर्ने छु भन्दै भाकल गरेका मन्त्री भट्टले भाकल अनुसारको माग पुरा भएपछि बली दिएका बुझिएको छ। घटाल देवताको भाकल पुरा भएपछि बोका, हाँस, कुखुरा, रागा भेडा वलीमध्ये कुनै पनि पशुको बली दिइने चलन छ ।

घटाल देवताले मागेको वर पुरा गर्ने भन्ने जनविश्वास रहँदै आएको छ । सोही अनुसार डोटी र डडेलधुराका सर्वसाधारण घटाल देवतालाई आफ्नो मनको इच्छा पुरा गर्न भाकल गर्ने गर्छन । 

घटाल देवतालाई कसैले महाभारतका भीमसेन पुत्र घटोत्चक त कसैले शिव भगवानको रुपमा मान्ने गर्छन । 

तर आफूलाई माक्र्सवादी भन्ने र जनयुद्धकालमा देवीदेवताका मन्दिर भत्काउन निर्देशन दिने कम्युनिष्ट सरकारका मन्त्री भट्टले बोकाको बली दिएको कुराले सुदूरपश्चिमेली चकित परेका छन् । 

लकडाउनका वेला काठमाडौबाट त्यही बली चढाउनका लागि मन्त्री भट्ट सुदूरपश्चिम आएको बताइन्छ । उनको अरु कुनै राजकिय कार्यक्रम सार्वजनिक भएको छैन् । यस बिषयमा कुरा गर्न खोज्दा उहाँको फोन उठेन ।