राजनीति

राष्ट्रपति विद्या भण्डारीको कार्यालयमा गलैँचा फेर्ने ठेक्का नेकपकै सांसदलाई ! को हुन् उनी ?

राष्ट्रपति विद्या भण्डारीको कार्यालयमा गलैँचा फेर्ने ठेक्का नेकपकै सांसदलाई ! को हुन् उनी ?

काठमाडाैं । यतिबेला राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने विषयले द्यापक चर्चा पाएकाे छ । आम नागरिकस्तरमा मात्रै हैन सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपादेखि प्रतिपक्षी नेपाली कांग्रेससम्मका नेता कार्यकर्ताले यो सरकारी निर्णयको बिरोध गरिरहेका छन् ।

तर राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने  मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ ।

राष्ट्रपति कार्यालयमा हुन लागेको यो सजावट कोभिड सुरु हुनुअघिको होइन । यसका लागि ठेकेदार छनोट भएको सूचना १३ जेठ र १७ जेठमा सार्वजनिक गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले १३ जेठको सूचनाअनुसार एक करोड ५७ लाख र १७ जेठको सूचनाअनुसार २७ लाख रुपैँया खर्च गर्न थालेको हो ।

विभागअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले हिमालयन डेकोर तथा श्री विकोई-इन्द्रेणी-सुप्रिम जेभिईलाई दिने निर्णय गत ९ जेठमा गरेको हो । तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा यसरी पौने दुई करोड खर्च गर्न लागिएको छ । राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने ठेक्का पाएको हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङको हो । उनी तनहुँ–१ (क) बाट निर्वाचित भएका हुन् ।

त्यस्तै, राष्ट्रपति कार्यालयको बगैँचा सजाउन मात्र वार्षिक ४२ लाख रुपैयाँ खर्च हुने गरेको छ । यो वर्ष बजेट व्यवस्थापनका लागि राष्ट्रपति कार्यालयले प्रितम बगैँचा निर्माण प्रालि, कागेश्वरी मनहरालाई ४२ लाख आठ हजार ६ सय ४० रुपैयाँमा ठेक्का दिएको छ । गत असोजमा नै सो कम्पनीलाई यससम्बन्धी ठेक्का दिइएको स्रोत बताउँछ । राष्ट्रपति कार्यालयमा पहिलेदेखि नै बगैँचा र फूलबारी भए पनि त्यसको व्यवस्थापनका लागि मात्र ४२ लाख खर्च गरिएको हो । तीन वर्षअघि ६८ करोडमा नयाँ भवन बनाइएको थियो ।

नजिकै रहेको प्रहरीको तालिम प्रतिष्ठान तथा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई समेत हटाएर राष्ट्रपति कार्यालय विस्तार गर्न लागिएको छ । राष्ट्रपति कार्यालय अझ फराकिलो बनाउन सँगैको प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालय हटाउन सरकारले ताकेता गरेको छ ।

सिआइबीलाई साउनभित्र अन्यत्र सारेर ठाउँ खाली गर्न ताकेता गरिएको छ, तर सिआइबीको कार्यालय कहाँ राख्ने भन्ने विषयमा सरकारले कुनै पहल गरेको छैन । त्यस्तै, प्रहरीलाई तालिम दिने सबैभन्दा ठूलो संस्था राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पनि राष्ट्रपति कार्यालय विस्तारकै लागि विस्थापित गर्न लागिएको छ । राष्ट्रपति कार्यालयका लागि हेलिप्याड तथा बगैंचा बनाउन तालिम प्रतिष्ठान अन्यत्र सार्न खोजिएकोे हो । आफ्नो ऐतिहासिक धरोहर तालिम केन्द्र हटाउन लागिएकोमा पनि प्रहरीको असन्तुष्टि छ ।