अर्थ कर्पोरेट

छिमेक लघुवित्तको किस्ता भुक्तानी अव इसेवाबाटै गर्न सकिने

छिमेक लघुवित्तको किस्ता भुक्तानी अव इसेवाबाटै गर्न सकिने

काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरूलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी याे सेवा सुरू गरेको हो । यसैगरी, अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र छिमेक लघुवित्तका तर्फबाट चोलराज शर्मा जोशीले हस्ताक्षर गरेका छन् ।

इसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यो सँगै लघुवित्तका सदस्यहरूले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ । 

लघुवित्तको अनलाइन भुक्तानीबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले याे सहकार्यले अब लघुउद्यमीहरूलाई अनलाइनबाट भुक्तानी गर्न सहज बनाउनेछ र उनीहरूले घरबाटै बचत गर्न तथा किस्ता तिर्न सक्ने बताएका छन् ।

छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले अहिलेको डिजिटलाईजेसनको जमानामा क्यासलेस कारोबारका लागि इसेवासँगको सहकार्यले निकै फाइदा पुर्याउने बताएका छन् । साथै, यस किसिमको डिजिटल भुक्तानीबाट संस्थाको लागत पनि घटाउने भएकाले डिजिटल भुक्तानीले सबैलाई सहज बनाउने उनले बताए ।