विचार

अनलाइन शिक्षण थाल्न किन आनकानी ?

अनलाइन शिक्षण थाल्न किन आनकानी ?

सुशान्त पौडेल, सृजना, समस्या, उत्पादन, ज्ञान र विनाश अब कुनै ठाउँ विशेषको पेवा रहेनन् । सूचना प्रविधि र यातायातको सुविधाका कारण अब सृजना र समस्या साझा भए । त्यही भएर भनियो यो युग भूमण्डलीकरण अर्थात ग्लोबलाइजेसनको हो । अमेरिकामा सृजित फेसबुक नेपालको कर्णालीमा उपयोग हुन्छ । चीनमा बनेको गन्जीले नेपाली गाउँ छोपिन्छ । जापानमा बनेको टिभीले दूरदराजका घर चलायमान हुन्छन् । नेपालको छुर्पी विकसित देशका मकानमा पुग्छ । अर्थात अब कुन कहाँको भन्ने रहेन ।

ग्लोबलाइजेसनको पछिल्लो उदाहरण हो–कोरोना । चीनको वुहानमा २०१९ को आखिरीमा देखिएको भनिएको कोरोना केही महिनामै विश्वव्यापी बनेको छ । वुहानभन्दा १२ हजार किलोमिटर टाढा रहेको अमेरिकामा कोरोनाका कारण बाह्र बज्दै छ । वुहानबाट २३ सय किलोमिटर पर रहेको नेपाल कोरोनाको कहरमा छ ।

हरेक समस्या मानब सभ्यताका लागि चुनौतिमात्र होइनन् सृजनाका स्रोत पनि हुन् । महामारीकै बीचमा मानब सभ्यताले नयाँ फड्को मारेको हो । नेपालको सन्दर्भमा कोरोनाका कारण कतिपय बहस र व्यबहारमा परिवर्तन हुने देखिएको छ । नेपाली समाजले स्यानीटाइजर सिक्यो । लोपोन्मुख हुन थालेको नमस्कार संस्कार संरक्षित हुने भयो । ब्यापार, बिनिमय, शिक्षा क्षेत्रमा अनलाइन प्रविधिले ब्यापकता पाउने देखियो । सामुहिक जीबन र भोजनमा रमाउने नेपाली समाजको विशेषता लकडाउनसँगै एकान्तप्रिय बन्ने सम्भाबना उस्तै छ । यस आलेख अन्य क्षेत्रमा पर्ने प्रभावबारे केन्द्रीत छैन । शिक्षा क्षेत्रमा अनलाइन विधिको अभ्यासमा केन्द्रीत रहनेछ । 

अनलाइन पठनपाठन सन् १९८२ बाट शुरु भएको मानिन्छ । अमेरिकाको क्यालिफोर्नियामा दूरशिक्षा शुरु भएको सन्दर्भलाई शुरुवात मान्ने हो भने अनलाइन शिक्षण ३७ बर्षे जवानीमा छ । नेपालमा भने यो बामे सर्दैछ र, यसलाई हिडाँउन कोरोनाले बाध्य पार्दैछ । कोरोनासँगै अनलाइन शिक्षण पद्धती विश्वव्यापी बन्दैछ । 

कोरोनाको संक्रमण शुरु भएसँग चीन, अमेरिका, युरोपमा विद्यालय बन्द भए । नयाँ नयाँ एप्लिकेशनको प्रयोग गरी पठन पाठन थालियो । चीनमा कक्षा कोठामा शिक्षकले पढाउने घरमा बसेर विद्यार्थीले हेर्दै पढ्ने गरेका समाचार भाइरले भए । अफसोच, नेपालमा कोरोना आउने निश्चित थियो तर लामाो समयसम्म विद्यालय कलेज र विश्वविद्यालय बन्द हुँदा पठनपाठन कसरी गर्ने भन्ने अनिश्चय रह्यो । 

लकडाउनको अघिल्लो दिनसम्म शिक्षामन्त्री एसइइको परीक्षा जसरी पनि हुने भन्दै थिए । लकडाउनसँगै अनुसन्धान गर्ने विश्वविद्यालय सुनसान भए । कलेज विद्यालयको कुरै भएन । विश्वविद्यालयको भूमिका नै संकटमा देखिने हो । अमेरिकाको जोनहप्किन्स विश्वविद्यालयले गरेको दैनिक कोरोना रिपोर्टलाई विश्वले आधिकारिक मानिरहेको छ । चीन, अमेरिका, बेलायतलगायतका विश्वविद्यालयमा कोरोनाको औषधी, खोप, प्रभाब आदिइत्यादि विषयमा अनुशन्धान भइरहेको छ । नेपाल लकडाउन भएको २ हप्तापछि अनलाइन शिक्षाको चर्चा शुरु भयो । मन्त्री, भिसी, रजिष्टार, रेक्टर, डिन, बिभागीय, प्रमुख प्राज्ञ र प्राज्ञिक क्षेत्रले अनलाइन शिक्षाकोे कुरा गरेपनि व्यहारतः निन्द्रामा छन् । 

अहिले अनलाइन शिक्षा खासमा बिद्यार्थीहरुलाई पठन पाठनमा ब्यस्त राख्नु , फुर्सदको समयको सदुपयोग गर्न लगाउनु, सेल्फ लर्निङको अभ्यास बढाउनु, कोरोना कहर धेरै समयसम्म रही रहेको खण्डमा बिद्यार्थीहरुलाई अनलाइन शिक्षामा अभ्यस्थ पार्नु हुनसक्छ । त्यसभन्दा बढी उपलब्धी हासिल गर्नका साथै शिक्षण सिकाइलाई सहज बनाउने हाम्रो पठयक्रम तथा मुल्याङ्कन पद्धती नै परिमार्जन गर्नु पर्ने हुन्छ । हामीले अनलाइन शिक्षाको कुरा गरिरहँदा खुला विश्वबिद्यालय अन्तर्गतको  शिक्षा प्रणालीको कुरा अवश्य गरेको होइन होला । किनकी कोरोना उद्गमस्थल भनिएका शहरहरुमा त स्कुलहरु खुल्न थालिसकेका छन् । 

हामी पनि निकट भबिस्यमा बिद्यालय तथा विश्वबिद्यालय खुला गर्ने अवस्था मा पुग्नेछौ भन्ने संकेत हो । विद्यालय, कलेज र विश्वविद्यालयले विकसित देशमा कक्षाकोठा र अनलाइन कक्षा सामान्य अवश्थामा पनि सँगसँगै चलाइरहेका हुन्छन् । कक्षाकोठामा भन्दा अनलाइन पढाइलाई केही बर्षयता जोड दिइएको छ । कोरोनाले सबै बन्द रहँदा पनि पठनपाठन बन्द नहुनुमा सोही अभ्यासलाई जस जान्छ । हामीले पनि भोलिका दिनमा अनलाइन÷दूरशिक्षा र कक्षाकोठाको पढाइलाई एकसाथ लैजान जरुरी हुनेछ ।

तत्कालका लागि गर्जो टार्न अनलाइन वा दूरशिक्षा निर्विकल्प छ । अनलाइन शिक्षाका लागि हामीले ईन्टरनेट , टेलीभिजन , रेडियोजस्ता प्रबिधीको प्रयोग गर्न सक्छौ । पूर्णकालीन शिक्षकसमेत महिनौसम्म घरमा निस्कृय भई बस्नु भनेको बिद्यार्थी तथा शिक्षक दुबैको बौद्धिकत्वमा ह्रास आउनु हो । पूर्णकालीन शिक्षकलाई अनुसन्धान गर्ने बातावरण जुटाउन सकेको भए प्रभाबकारी हुन सक्दथ्यो । अनलाइन शिक्षामा जोडीने कुरा त्यति ठूलो होइन । जसरी फेसबुक हातहातमा पुगेको छ । अनलाइनका लागि प्रयोग गरिने एप्स पनि त्यस्तै हो । 

हातहातमा पुग्न गाह्राे छैन । ठाउँअनुसार हामीले अनलाइनका लागि जोडीने प्रबिधी फरक हुनसक्छ जस्तो सहर बजारमा ईन्टरनेट हुन सक्छ भने गाउ घरतिर रेडियो टेलीभिजन हुनसक्छ । बिगतका बर्षभन्दा हाम्रैमा पनि प्रबिधीमा धेरै परिवर्तन आएको छ तर अहिलेकै अबस्था यो पर्याप्त भने अबस्य छैन । कम्तिमा पनि सूचना प्रविधि, इन्जिनियरिङ आदि विषयको पठनपाठन तत्कालै गर्न सकिन्छ । किनकी यी विषयका विद्यार्थीसँग प्रविधिको पहुँच अबश्य छ । भक्तपुर क्याम्पसको विभागीय प्रमुख हुनुको नाताले मलाई यो भन्न संकोच छैन कि हामीले प्रयास गरेका छौँ । अब छलफल र छलछाममा अनलाइन शिक्षा रुमलिनुहुन्न । अब कार्यान्वयन गर्नैपर्छ । 

अनलाइन प्रविधिको शिक्षण कक्षा कोठाको पठनपाठनभन्दा प्रभावकारी हुनसक्छ । विश्वभर छरिएर रहेका विज्ञ नेपालीलाई उनीहरुको विज्ञताको आधारमा पढाउन अनुरोध गर्न सकिन्छ । दूरदराजको विद्यालयका विद्यार्थीले विश्वका नामी र दामी विश्वविद्यालयमा अध्यापन गराइरहेका बाट पढ्ने अवसर पाउन सक्छन् । राज्य र सम्बन्धित निकायले शिक्षालाई प्रविधिमैत्री बनाउन तत्काल ठोस कदम चाल्नै पर्छ ।  एप्स बनाउनका लागि विश्वभररहेका नेपाली विज्ञले नै सक्छन् । मात्र समन्वयको खाँचो छ । फेरी  एप्स बनाउन एकै ठाउँमा जम्मा हुनुपर्छ भन्ने छ्नै ।

आआफ्नै घरमा बसेर सामुहिकरुपमा नेपालीमैत्री एप्स र प्रविधिको विकास गर्न सकिन्छ । तत्काललाई अरुअरु देशमा प्रयोग हुँदैका यापबाट पठनपाठन गर्न सकिन्छ । हामीले बुझ्नैपर्छ कोरोना कहरमात्रै होइन, फड्को मार्ने अवसर पनि हो । तत्काल शिक्षा मन्त्री, सचिव, भिसी, प्राज्ञ क्षेत्र र सम्बन्धित अन्य क्षेत्रले पहल लिनै पर्छ र विद्यार्थीको समय नास हुने, शिक्षक बेरोजगार रहने अवश्थाको अन्त्य हुनुपर्छ । 

(लेखक सुशान्त पौडेल भक्तपुर क्याम्पस सिएसआइटी कार्यक्रमका संयोजक हुन् । )