अन्तरवार्ता भिडियो

बामदेबको बलमिच्याइँमा परेका सुबासको बिरह (भिडियोसहित)

बामदेबको बलमिच्याइँमा परेका सुबासको बिरह (भिडियोसहित)

स्याङ्जाका लालचन्द्र ढकाल वरपर छरछिमेकमा नामी थिए । तेज दिमागका लालचन्द्र सानै उमेरमा जागिरे भएका थिए । परिवारमा खुशी छाएको थियो । २ छोरीपछि छोरा जन्मिएको कहेी दिनमात्र भएको थियो । उनको सरुवा कास्कीबाट बर्दिया भयो । चिचिले छोराछोरी र कलकलाउँदी श्रीमती बोकेर लालचन्द्र बर्दिया हानिए । बर्दियामा उनी खरदारसाबका रुपमा प्रतिष्ठित थिए । छोराछोरी पनि हुर्कर्दै थिए । हुने हार, दैब नटार लालचन्द्रलाई असाध्य रोग लाग्यो । ३८ बर्षको उमेरमै उनको देहान्त भयो । जयन्ती भर्खर ३५ बर्षकी थिइन् । सुवास ६ बर्षका । दिदीहरु आठ दश बर्षका ।

सुवासले टुहुरो हुँदा बुबाको माया र भरमात्र गुमाएनन्, समाजलाई अझ नजिकबाट चिने । निर्धोमाथि शक्तिशालीले गर्ने दमन पनि बुझे । किशोर अवस्थामा प्रवेश गर्दानगर्दै उनको मनमा सामाजिक परिवेशका विरुद्ध बिद्रोह दन्किरहेको थियो । कम्युनिष्ट नाराले उनलाई आकर्षित गर्‍यो । बहुदलको राप र तापसँगै शुरु भएको सुवासको एमालेसँगको सम्बन्ध अबिछिन्न कायम छ ।

दिन उमेरमै विधवा भएकी जयन्ती छोराछोरीको मुख हेरेर चित्त बुझउथिन । समाज उनलाई विधवाको रुपमा विचरा ठान्थ्यो । र, मौका मिलेसम्म हेप्थ्यो । हिम्मतवाली जयन्तीले हार खाइनन् । संघर्षबाट हार खाइनन् । विस्तारै उनको क्षमता समाजले बुझ्यो । उनी ०५४ सालको स्थानीय निर्वाचनमा बर्दियाको धधवारबाट वडा जनप्रतिनिधि निर्वाचित भइन् ।

बर्दियाली नेता बामदेब गौतम ढकाल परिवारका आदर्श थिए । आफ्नै क्षेत्रका नेता गृहमन्त्री हुँदा ढकाल परिवार आफैँपनि शक्तिशाली भएको महशुश गथ्र्यो । सपनाको भारी बोकेर सुवास काठमाडौँ हानिए । उनले काठमाडौँमा कम्ता दुःख गरेनन् । जहान परिवार पाल्नका लागि उनले कम्पनीमा क्यान्टिन चलाए । जसोतसो पढाइ अघि बढाए । सँगै राजनीतिसँगको साइनो पनि प्रगाढ बनाउँदै लगे । उनी बर्दियाबाट काठमाडौँ आइ बसोबास गर्नेहरुको नेता भए । एमालेको भातृ संगठन बर्दिया काठमाडौँ सम्पर्क मञ्चको उनी ३ पटक अध्यक्ष निर्वाचित भए ।

सरल स्वभाव, स्पष्टवक्ता, सहयोगीपन र निरन्तरको खटनका कारण उनी नेताहरुको नजरमा प्रिय थिए । सुबासलाई साथीभाइ राजनीतिक भविश्य बोकेको युवाको रुपमा चिन्दथे । उनलाई भने परिवार पाल्नकै धौँधौ थियो । अकुपञ्चरको अध्ययन सकेपछि उनका लागि परिस्थिति केही सहज भयो । अकुपञ्चरिष्टका रुपमा आयआर्जन गर्ने र बचेको समयमा राजनीति गर्ने निधो गरे । तिख्खर सुवासले अकुपञ्चरको क्षेत्रमा छिटै परिचय बनाए । उनले धेरै नेताको उपचार गरे ।

२०६६ सालमा उनले काठमाडौँ महानगरपालिकामा ६ महिना स्वयंसेवीका रुपमा काम गरे । उनी तलब लिदैनथे, काममात्र गर्दथे । पछि महानगरपालिकाकै आग्रहमा उनले स्वास्थ्य सहायक पाचौँ तहको कर्मचारीका रुपमा करारमा पूर्णकालीन काम थाले । बर्दिया र काठमाडौँमा एमालेको संगठन विस्तार गर्न सुवासले लागेपुगेको गरे । राजनीति बुझेकी आमाले उनलाई साथ दिइन । नाम कमाउँदै गर्दा देहत्याग गरेका श्रीमानको धोको छोराले पूरा गर्ने जयन्तीको कामना थियो ।

समय राम्रै चल्दै थियो । संविधान निर्माणपछि भएको संघीय निर्वाचनमा बामदेब गौतम बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने भए । प्युठानकी बर्दिया भन्ने दोमनका बीचमा बामदेबले बर्दिया रोजेका थिए । काठमाडौँबासी हुनुका नाताले बामदेबलाई जिताउन समन्वय गर्नु र बामदेबलाई फिल्डको सूचना दिनु सुवासले कर्तव्य सम्झे । उनी भन्छन्, ‘रातदिन नभनि खटियो तर त्यही खटाइ नै उनका लागि अभिशाप बन्यो ।’

बामदेब काँग्रेस नेता संजय गौतमभन्दा ३० हजार बढी मतान्तरले बिजयी हुने दाबी गरिरहेका थिए । तर, फिल्डमा खटिएका कार्यकर्ता बामदेबको व्यबहारबाट सन्तुष्ट थिएनन् । बाहिरका र बदनाम भएका व्यक्तिलाई उनले विश्वास गरेका थिए । बामदेब मतदाताको नमस्कार पनि फर्काउँदैनथे । मेरो नाम नै काफी छ को शैलीमा भाषण गर्थे । र स्थानीयसँग कुराकानी नगरी हुइँकन्थे । चोकचोकमा बामदेब गौतमलाई स्वागत गर्न फूलमाला लिएर बसेका स्थानीय बामदेबको दर्शन पाउँदैनथे । मात्र गाडीको तातीले उढाएको धुलो पाउँथे । अर्कोतर्फ काँग्रेस उम्मेदवार गौतम घरघर पसेर बुढाबुढीको पाउ छुँदै भोट माग्थे । ’सामन्ती भनिएको संजयको त्यो व्यवहार कम्युनिष्ट भनिएको बामदेबको यो ब्यबहार ।’ गाउँघरमा व्यापक चर्चा थियो ।

सुवासले यस्तै रिपोर्ट सुनेपछि बामदेबलाई सुनाइदिए, ’तपाई चुनाव हार्दै हुनुहुन्छ ।’ बामदेबले कारण पनि सोधेनन् । बरु झर्किए । नभन्दै बामदेब हारे । अध्यक्ष केपी ओली निकटका श्याम ढकालहरुको षडयन्त्रमा आफू फसेको गौतमले निचोड निकाले । उनले सुवास ढकाललाई पनि श्याम ढकाल ग्याङकै सदस्य दर्ज गरे । निर्वाचन परिणाम आएको केही दिनमा उनले बामदेबबाट सन्देश पाए, ‘हेर्दै जानु बामदेबले देखाइदिन्छ ।’

देशकै नेता बामदेबले आफुजस्तो कार्यकर्तासँग देखाइदिने भनि धम्की दिँदा सुवास बिलखबन्दमा परे । शुरुमा त उनी झाँगाबाट खसेजस्तो भए । बिस्तारै मन बुझाए, ‘न बिराउनु न डराउनु ।’ निर्वाचनको माहोल विस्तारै सेलाउँदै थियो । सुवास महानगरपालिकाको काममा जम्दै थिए । उनलाई मेयर बिद्यासुन्दर शाक्यको सचिवालयबाट करार अन्त्य गर्न लागिएको सूचना आयो । उनले मेयर शाक्यलाई भेटे । शाक्यले ढकालसँग भने, ‘तपाई राम्रो मान्छे हो, महानगरलाई चाहिने कर्मचारी हो । तर, कमाण्डरको आदेश मान्न म बाध्य छु ।’ ०७५ साल भदौ मसान्तबाट लागू हुने गरी उनको करार सकिएको लिखित पत्र उनको हात पर्‍यो ।

सुवासले मेयर शाक्यसँग सवालजवाफ गरे ‘कि मेरो क्षमता र इमान्दारितामा खोट देखाउन पर्‍यो कि करार समाप्तीको पत्र फिर्ता गर्न पर्‍यो । मभन्दा पछि करारमा भर्ती भएका १७८ जना कायमै रहने अरुकोभन्दा धेरै अनुभव र आफ्नै पार्टीको भएपनि मेरो जागिर किन जाने ?’ मेयर नाजावाफ थिए । उनले बामदेबलाई मनाए आफू मान्ने भन्दै निरिहता व्यक्त गरे ।

सुवासको पहुँच पार्टीपंक्तिमा राम्रै थियो । अष्टलक्ष्मी शाक्य, इश्वर पोखरेल, माधब नेपाल, केप ओली सबैलाई उनले दुःख बिसाए । उनीहरुले शाक्यसँग जानकारी पनि लिए । शाक्यले गौतमकै आदेशमा करार समाप्त गरिएको जवाफ फर्काए । एमालेको सम्पर्क समितिका नेता तथा बामदेब गौतमसँग लामो समय सहकार्य गरेका टोपबहादुर विसी बामदेबको मन फर्काउन भैँसेपाटी पुगे । तर, बामदेब लहड फेरिएन ।

सुवास पार्टीमा क्रियाशिल भएको ३० बर्ष भयो । सुवासले सायदै पार्टीबाट केही लिए । महानगरपालिकामा करार जागिर खाँदा उनले पार्टी सम्बन्धको प्रयोग गरेका थिएनन् । उनको आफ्नै योग्यताले खाएका थिए । जीबनमा पार्टीका लागि दिलोज्यान दिए । तर, पार्टीकै नेताको कोपभाजनमा परेर सुवासले जागिर गुमाए । झट्ट हेर्दा यो सामान्य घटना भएपनि देशको कमाण्ड सम्हाल्न हौसिएका नेताको स्तर मापन गर्न सुवासमाथिको ज्यादती आफैँमा काफी भएको नेकपाका एक नेताले बताए ।

सुवासकी ७० बर्षिय आमा जयन्ती छोराको जागिर गएकोमा भन्दा बामदेबको ब्यबहारबाट पीडा भएको बताउँछिन् । ‘म बुढीको आशु लाग्छ बाबु ।’ फोनमा सुवासको जागिर जाँदाको घटनाक्रमबारे भन्दै गर्दा जयन्ती भक्कानिइन् ।