राजनीति

हात्तीवनमा प्रचण्ड पक्षकाे गाेप्य भेला, काे-काे बने सहभागी ? भए यस्ता निर्णय

हात्तीवनमा प्रचण्ड पक्षकाे गाेप्य भेला, काे-काे बने सहभागी ? भए यस्ता निर्णय

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा )को आन्तरिक विवाद सकिएको सन्देश दिएर सचिवालय बैठक सकिएकाे २४ घण्टा नबित्दै प्रचण्ड समुहले ललितपुरको हात्तिबनमा गोप्य बैठक बसेकाे छ ।

बैठकमा ‘एक व्यक्ति एक पद’लाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने, शनिबार बसेको सचिवालय बैठकको सहमतिको विश्वासनीयता कायम गर्न प्रधानमन्त्री ओलीले सचिवालयमा रहेका व्यक्तिहरु (विष्णु रिमाल, सूर्य थापा लगायत) लाई हटाउने र चारै नेताले सिफारिस गरेका १/१ व्यक्ति प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गर्न आग्रह गर्ने बिषयमा छलफल भएको छ ।

नेकपा उच्च स्रोतले नेपाल आजलाई दिएको जानकारी अनुसार उक्त बैठकमा १ र ३ नम्बर प्रदेशका मुख्यमन्त्री हटाउनुपर्ने र १ नम्बर प्रदेशमा भीम आचार्य तथा ३ नम्बर प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिने बारेमा समेत छलफल भएको छ।

उक्त बैठकले ४ नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सम्बन्धित प्रदेशको पार्टी इन्चार्जबाट हटाउन दबाब दिने समेत निर्णय गरेको बताइएको छ । त्यस्तै प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का सदस्य फेर्न दवाद दिने तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुनै पनि हालतमा पूर्व सचिव प्रेमकुमार राईलाई नियुक्त गर्न नदिने सहमति भएको स्रोतले बतायो ।

त्यस्तै आगामी दिनमा हुने राजदूत, संवैधानिक निकाय र अन्य महत्त्वपूर्ण नियुक्तिमा अध्यक्षद्वयले पहिला छलफल गर्ने, त्यसपछि सचिवालयबाट अनुमोदन गराउने र ओली, नेपाल तथा प्रचण्ड पक्षको समान हैसियत हुने गरी नियुक्ति गर्न दबाब दिने निर्णय पनि बैठकले गरेको छ । प्रचण्ड–नेपाल समूहको भेलाले नेकपा उपाध्यक्ष वामदेव गौतमले धोका दिएका कारण प्रधानमन्त्री ओलीको राजीनामा टरेको निष्कर्ष समेत निकालेको छ ।

उक्त गोप्य भेलामा पार्टी अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी भएको बुझिएको छ ।