राजनीति

संसद् बैठक बस्दै, संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने तयारी

संसद् बैठक बस्दै, संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने तयारी

काठमाडौँ । सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने तयारी भएको छ । संसदको आइतबारको सम्भावित पहिलो कार्यसूचिमा नै संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने उल्लेख रहेकाले आज संसद बैठकमा संविधान संसोधन विधेयकमा छलफल हुने सम्भावना रहेको हो ।

यसअघि गत बुधबार नै संविधान संशोधन प्रस्ताव प्रस्तुत हुने भनिए पनि संशोधनमा कांग्रेसले पार्टीबाट आधिकारिक निर्णय नगरेको भन्दै अन्तिम समयमा आएर कार्यसूचिबाट हटाइएको थियो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संशोधन प्रस्ताव प्रस्तुत भएपछि शुक्रबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि छलफल सुरु हुनेछ । सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।