नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १ हजार २१२पुगेको जानकारी दिएका हुन् । हालसम्म २०६ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । जसमध्ये १६२ जना पुरुष रहेका छन् भने ४४ जना महिला रहेका छन् ।

यस्तै नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ स्थायी ठेगाना भएका एक जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । भारतबाट आउँदा बाटोमै उनको मृत्यु भएको उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ स्थायी ठेगाना भएका उनको गत जेठ १० गते मृत्यु भएको थियो । उनको नेपाल फर्कने क्रममा कपिलवस्तुको सीमा क्षेत्रमा मृत्यु भएपछि नमूना संकलन गरेर परिवारले अन्त्यष्टि गरिसकेका छन् ।

यसअघि नेपालमा कोरोनाका कारण पाँच जनाको मृत्यु भएको थियो । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष गरी पाँच जनाको मृत्यु भएको थियो ।

संम्बधित खबर