समाचार

हेटौंडाकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि

हेटौंडाकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मकवानपुरको हेटौंडाकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रणय कुमार उपाध्यायका अनुसार हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपाध्यायका अनुसार ती महिला जेठ ९ गते चितवनबाट हेटौंडा आएकी थिइन् । ५ महिनाकी गर्भवती उनी हेटौंडा अस्पतालमा गर्भजाँच गर्न जाँदा चितवनबाट आएको खुलेपछि उनको कोरोना परीक्षणको लागि नमूना संकलन गरेर किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाको प्रयोगशालमा कोरोना परीक्षण गरिएको थियो ।

सोही परीक्षणको क्रममा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आजै प्रदेश ३ को कोरोना विशेष अस्पताल चितवन रेफर गरिएको पनि उपाध्यायले जानकारी दिए ।

गर्भजाँच गराउन अस्पतालमा पुग्दा चितवनबाट जेठ ९ गते आएको खुलेपछि उनको कोरोना परीक्षण गरिएको थियो । उनका परिवारलाई होम क्वारेन्टाइनमा राखेर अहिले कन्ट्रयाक ट्रेसिङको काम अघि बढाइएको छ ।