समाचार

नेपालमा ३ जनाकाे मृत्युपछि मात्रै कोरोनाको पुष्टि

नेपालमा ३ जनाकाे मृत्युपछि मात्रै कोरोनाको पुष्टि

काठमाडौँ । धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु भएको तीन दिनपछि भारतबाट आएर क्वारेन्टाइनमा बसेका बाँकेका युवाको मृत्यु भएको त्यही दिन बेलुका र बाराका वृद्धको स्वाब लिएको ११ दिनपछि तथा मृत्यु भएको ९ दिनपछि मात्रै कोरोनाको पुष्टि भएको हो । मकर श्रेष्ठले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

बाराका ७० वर्षीय एक वृद्धमा दाहसंस्कार गरेको आठ दिनपछि मात्रै सोमबार कोरोना संक्रमण पुष्टि भयो । वीरगन्जको नेसनल मेडिकल कलेजको आईसीयूमा उपचारका क्रममा उनको जेठ ४ मा मृत्यु भएको थियो । उनको त्यही दिन नै दाहसंस्कार गरिएको थियो । जेठ २ मा भर्ना गरेर उनको त्यही दिन स्वाब निकालिएको अस्पतालले जनाएको छ । स्वाब निकालेको ११ दिनपछि मात्रै उनको रिपोर्टमा कोरोना पोजिटिभ पाइएको हो ।

बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको पनि मृत्यु भइसकेपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । मृत्युपछि स्वाब निकालेर परीक्षण गर्दा उनमा कोरोना देखिएको थियो । ती युवा वैशाख ३० मा भारतबाट आएका थिए । क्वारेन्टाइनमा बसेको पाँच दिनसम्म पनि उनको कोरोना परीक्षण भएको थिएन । यतिसम्म कि उनलाई झाडापखाला र ज्वरोले सिकिस्त हुँदा पनि अस्पताल लैजाने एम्बुलेन्ससमेत नपाएको आफन्तको गुनासो छ । उनी मटैयास्थित दीपेन्द्र प्राविको क्वारेन्टाइनमा थिए ।

मृत्युपछि मात्रै कोराना पुष्टि हुनेमा सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया सुत्केरी पनि हुन् । उनको मृत्यु भएको तेस्रो दिनमा मात्रै कोरोना पुष्टि भएको हो । जेठ १ को राति १० बजे मृत्यु भएकी उनको ३ गते राति ८:५० मा मात्रै सरकारले उनको मृत्यु कोरोनाले भएको सार्वजनिक गरेको थियो । कोरोना संक्रमणका कारण पछिल्लो १२ दिनमा चार जनाको मृत्यु भएको छ । गुल्मीका शिक्षकबाहेक तीन जनामा मृत्युपछि मात्रै कोरोना लागेको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले मृत्यु भएकाको क्लिनिकल विश्लेषण गरेर पूर्ण विवरण तयार भइरहेको बताए । ‘कोभिडले हामीलाई झुक्याइरहेको छ । लक्षण देखिँदैन । अरू स्वास्थ्य समस्याले ग्रसित भएका व्यक्तिहरूलाई आफ््नै पुरानो समस्याबाट ग्रसित भएको जस्तो लाग्छ,’ उनले भने, ‘कोभिडका कारणले कमजोर भएको जस्तो लाग्दैन । उपचारका लागि स्वास्थ्य संस्थामा ढिला पुग्छन् । परीक्षण गरेर उपचार गर्ने बेलासम्म समय घर्किसकेको हुन्छ ।’ रोग प्रतिरोधक क्षमता कमजोर भएका र केही रोगले ग्रसित बिरामीलाई कोरोनाले च्याप्ने गरेको उनको भनाइ छ । ‘अब वृद्धवृद्धा, अशक्त, बिरामीलाई जोगाउनुपर्ने देखियो,’ उनले भने ।