राजनीति

वार्ताबाहेक विकल्प छैन : भारतीय कूटनीतिज्ञ

वार्ताबाहेक विकल्प छैन : भारतीय कूटनीतिज्ञ

काठमाडौँ । नेपाल मामिलाका जानकार भारतीय कूटनीतिज्ञहरूले सीमा विवादलाई लिएर पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा तनाव देखिएकामा चिन्ता व्यक्त गर्दै आपसी संवादबाट समाधान पहिल्याउनुको विकल्प नरहेको बताएका छन् ।

तत्कालको परिस्थितिमा ‘वातावरण प्रतिकूल देखिएको’ भन्दै नेतृत्वले संयम गुमाउन नहुने र उत्तेजना फैलाउने अभिव्यक्तिहरू दिनबाट बच्नुपर्ने उनीहरूको धारणा छ । नेपाल र भारतबीचको विवादमा चीनलाई ल्याउनु अर्थहीन भएको समेत उनीहरूको जिकिर छ ।

नेपाल र भारतबीच सात दशकदेखि उल्झनका रूपमा रहेको लिपुलेक–कालापानी क्षेत्रसम्बन्धी विवाद गत २६ वैशाखमा भारतले एकतर्फी ढंगले पिथौरागढ–लिपुलेक लिंक सडक खण्ड उद्घाटन गरेपछि चुलिएको हो । जवाफमा नेपालले बुधबार लिम्पियाधुरापूर्वको भूभागलाई समेटेर नक्सा जारी गरेको छ ।

नेपालका लागि पूर्वराजदूत केभी राजनले सीमा विवादलाई लिएर दुई देशबीच पछिल्लो समय देखिएको अविश्वास ‘चिन्ताजनक’ भएको बताए । उनका अनुसार परिस्थिति क्रमश: निकै जोखिमपूर्ण बन्दै गएको छ । उनले नेपाल र भारतबीच छलफल एवं वार्ताबाट सुल्झाउनै नसकिने विवाद र समस्या कुनै नरहेको धारणा व्यक्त गरे ।

अर्का पूर्वराजदूत मञ्जीभसिंह पुरीले पनि नेपाल–भारत सम्बन्ध निकै गहिरो र जनस्तरको भएकाले बिनादबाब र खुला वातावरणमा हुने संवादले निकास दिनेमा आफू विश्वस्त रहेको बताए । तर, आवेशमा आएर दुवै देशबीचको सम्बन्धलाई नै असर पर्ने गरी नेतृत्वबाट टिप्पणी आउनु भने चिन्ताजनक भएको उनले बताए । उनको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसद्मा भारतलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति थियो ।

अर्का पूर्वराजदूत रन्जित रायले कोभिड–१९ को संकटका बेला दुई छिमेकीबीच यस्तो वातावरण बन्नु दु:खद भएको उल्लेख गर्दै पछिल्ला घटनाक्रमलाई गम्भीर ढंगले समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए ।

पूर्वराजदूत देव मुखर्जीले भने पछिल्ला घटनाक्रमप्रति आश्चर्य व्यक्त गरे । उनले सीमा विवादलाई लिएर होहल्ला गर्नेभन्दा पनि उच्च राजनीतिक तहमा विगतमा भएको सहमतिअनुरूप प्रमाणका साथ वार्तामा बस्नुपर्ने बताए ।

अर्का पूर्वराजदूत जयन्त प्रसादले पनि नेतृत्व तहले शान्त ढंगमा संवाद अगाडि बढाउनुपर्ने सुझाव दिए । बंगलादेशसँग जमिन र समुद्रमा भएको विवादसमेत वार्ताबाट टुंगिएकोमा नेपालसँगको विवाद नटुंगिने आफूलाई रत्तिभर शंका नभएको उनले बताए ।