राजनीति

संक्रमण बढ्यो, आउँदा दिन झनै चुनौतिपूर्ण- स्वास्थ्यमन्त्री ढकाल (भिडियोसहित)

संक्रमण बढ्यो, आउँदा दिन झनै चुनौतिपूर्ण- स्वास्थ्यमन्त्री ढकाल (भिडियोसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले नेपालका लागि आउँदा दिन थप चुनौतिपूर्ण हुन सक्ने बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७३ औँ विश्व स्वास्थ्य सम्मेलनलाई भिडियो मार्फत सम्बोधन गर्दै उनले कोरोना भाइरसविरुद्धको अभियानमा सबै संयन्त्र परिचालन गरी काम गरिरहेको बताए । तर पनि साधन स्रोतको कमी रहेको र संक्रमण बढ्दो क्रममा रहँदा चासो र चिन्ता थपिएको उनले बताए ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि डब्लुएचओले गरेको प्रयासको प्रशंसा गरेका मन्त्री ढकालले नेपालसहितका देशहरुका लागि अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक रहेको बताए ।

कोरोना भाइरसले कुनै पनि जात, रंग, पेशा वा वर्गका भनेर नछोड्ने भन्दै उनले विश्वव्यापी एकीकृत प्रयासमा जोड दिए । मन्त्री ढकालले सम्बोधनको क्रममा कोरोना भाइरसविरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर खटिएका सबैलाई धन्यबाद पनि दिएका थिए ।