राजनीति

निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै नीति तथा कार्यक्रम आएको छ : विष्णु पौडेल

निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै नीति तथा कार्यक्रम आएको छ : विष्णु पौडेल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी, नेकपा महासचिव तथा नेकपा सांसद विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम निर्वाचनका बेलामा जनतासमक्ष गरिएको प्रतिबद्धता अनुसार आएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै महासचिव पौडेलले आगामी आर्थिक वर्षमा के के गर्ने भन्ने प्रतिबद्धतासहित आएको बताए। सपना नदेखी तस्वीर बनाउन सकिन्न भन्दै महासचिव पौडेलले सपनासम्म पनि देख्न नसक्नेले विकास निर्माण वा समृद्धिको अभियानको नेतृत्व गर्न नसक्ने दाबी गरे।

'सरकारको नीति तथा कार्यक्रम कोभिड-१९ ले सिर्जना गरेको चुनौतीको सामना गर्ने र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने सपना र संकल्पका साथ आएको छ,'पौडेलले भने,'नीति तथा कार्यक्रमले आधारहीन सपना बाँडेको छैन,बरू यो स्पष्ट उद्धेश्य,लक्ष्य कार्यान्वयनको कार्ययोजना र परिणाम प्राप्त गर्ने अठोटकासाथ आएको छ।'

नीति तथा कार्यक्रम महत्वकांक्षी नभई उच्चआकांक्षी भएको समेत उनले बताए। स्रोत,साधन र सामर्थ्यको अधिकतमा परिचालन गर्दा कार्यान्वयन गर्न सकिने प्रकृतिको रहेको भन्दै उनले नीति तथा कार्यक्रम उच्चतम सीमारेखाको नजिक रहेको जिकिर गरे।

'नीति तथा कार्यक्रम कोभिड-१९ को महामारी र त्यसले मानव जीवनको रक्षा तथा आर्थिक सामाजिक क्षेत्रमा सिर्जना गरेको चुनौतीको सामना कसरी गर्ने? कोरोना रोकथाम नियन्त्रण र उपचारलाई कसरी प्रभावकारी बनाउने? यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावलाई कसरी सामना गर्ने?भन्ने जस्ता विषयमा तत्कालको अभिभारा निश्चित गरेको मात्र होइन पोष्ट कोभिड योजनासहित प्रस्तुत भएको छ,'पौडेलले भने,'आर्थिक तथा सामाजिक क्षेत्रमा थप क्षति हुन नदिन र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै उच्चदरको आर्थिक वृद्धि हासिल गर्न केन्द्रित भएको छ।'