राजनीति

जेठ २० सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद बैठकको निर्णय

जेठ २० सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको सिफारिस अनुसार मन्त्रिपरिषद बैठकले लकडाउन जेठ २० सम्म लम्ब्याएको हो ।

बैठकले सुरक्षा व्यवस्थालाई अझै कडा बनाउने र आपूर्ति व्यवस्थामा प्रभावकारी गर्ने निर्णय गरेको छ । बैठकमा कोरोना संक्रमितको संख्या देशभरि बढिरहेको र फैलन नदिन लकडाउन बढाउनुपर्नेबारे छलफल भएको थियो ।

यसअघि आज दिउँसो बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले जारी लकडाउन निरन्तरता दिने निष्कर्ष सहित थप्न सिफारिस गरेको थियो । सरकारले यसअघि लम्ब्याएको लकडाउनको अवधि भोलि सोमबार सकिँने भएसँगै सरकारले आजै लकडाउन लम्ब्याएको हो ।

सरकारले नेपालका कोरोना भाइरसको संक्रमण देखिन थालेसँगै गत चैत ११ गतेदेखि लकडाउनलाई निरन्तरता दिँदै आएको छ । कोरोना संक्रमणको कारण नेपालमा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।