विचार

कागती महात्म्य

कागती महात्म्य

२४ घण्टाभित्र मट्याङग्रे कागतीको मूल्य १५ रुपियाँ बृद्धि भएर ४० पुगेको छ । हेर्दा एक गेडो कागतीको सरोकार देखिएपनि हाम्रो बजारको प्रकृति यसले चित्रण गर्छ ।

जब यो देशमा दौरा सुरुवाल लगाएका भलाद्मी हेडसरहरुले जनता र देशको स्वामित्व लिएर गुलियो भाषण गर्छन, त्यसपछि बजार ठीक त्यसको उल्टो बेगमा दौडिहाल्छ । नढाँटीभन्दा हाम्रो ‘डोके इकोनमी’ अब विस्तारै झोले अर्थतन्त्रमा अनुवाद हुँदै गएको छ । जुनसुकै बादले आफ्नो प्रभुत्वको दलील गरेपनि आखिर अर्थतन्त्रको मुख्यालय चुल्हो नै हो ।

यो देशमा जति नेताहरु शक्तिमा पुगे, तिनीहरुले राज्य नभई गुट मात्र चलाए । यहाँ गफबाहेक अरु केही उम्रिएन । अरु त अरु देशका सर्वशक्तिशाली प्रधानमन्त्री केपी ओली स्वयंले सेना, पुलिस (बन्दुके शक्ति) उपयोग नगरी अहिलेको परिस्थितिमा एउटा सिलिण्डर ग्यासको जोहो गर्न सम्भव छैन् ।

उहाँको प्रशासन संयन्त्र काठमाडौं पूरा खरानी भएपछि दमकल किन्न टिप्पणी उठाउन शुरु गर्ने चरित्रको छ । सरकारले भनेको विपरीत दिशामा नागरिक नजाने हो भने चुलोमा आगो बल्न कठिन छ । त्यही भएर त संग्रह संस्कृतिको विकास भएको हो ।

यदि अमेरिकामा कागतीको मूल्यमा यस्तो अवस्था आइदिएको भए त्यहाँको सरकारले खाद्य सुरक्षाबारे व्यापक समीक्षा आरम्भ गथ्र्यो । कारण खोजिन्थ्यो, निदान हुन्थ्यो । यहाँ त डाकाले पनि न्यायालयमा सेटिङ गरेपछि डकैती गर्छ ।