स्वास्थ्य राजनीति

उपचार नगर्ने अस्पताललाई कारबाही गर्न गण्डकी सरकारको निर्देशन

उपचार नगर्ने अस्पताललाई कारबाही गर्न गण्डकी सरकारको निर्देशन

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको बहानामा उपचार नगरी बिरामी फर्काउने र तत्काल उपचार नगर्ने अस्पताल, संस्थाका प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। 

सरकारी, निजी, सामुदायिक र विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाले आफूकहाँ आउने सबै बिरामीलाई उपचार नगरे संक्रमण रोग ऐन, २०२० लगायत प्रचलित कानुनअन्तर्गत कारबाही गर्ने निर्णय सरकारले गरेको हो। 

गण्डकी सरकारले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि तयारीमा निरन्त्तर जुट्नुपर्ने भन्दै स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई बिदा नदिने निर्णय पनि गरेको छ। 

सरकारका प्रवत्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आवद्ध निकायका कर्मचारीका सुत्केरी विदा र किरिया बिदा बाहेक अन्य विदा स्वीकृति नगर्ने निर्णय गरेको गरेको जानकारी दिए। 

प्रदेश सरकारले एम्बुलेन्स चालकहरुले कोरोनाको संकास्पद विरामी बोक्न नमानेपछि छुट्टै एम्बुलेन्सको समेत व्यवस्था गरेको छ।