समाचार स्वास्थ्य

धनगढीमा कोरोना संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ

धनगढीमा कोरोना संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ

 धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका कोरोना संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

उनको परिवारका आठ सदस्यको स्वाब संकलन गरिएकामा उनकी ३४ वर्षीया भाउजूूको रिपोर्ट पोजेटिभ र अन्य सातको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए ।

संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसअघि संक्रमण देखिएका धनगढीका युवक दुबईबाट यही चैत ७ गते नेपाल आएका थिए ।

दिल्लीबाट काठमाडौँ आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए ।

यता, कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ । अस्पताल बाहेक सबै क्षेत्र बन्द छन् ।