समाचार स्वास्थ्य

चितवनमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ

चितवनमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ

चितवनको भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईको उपचारका क्रममा हिजो बिहान मृत्यु भएपछि कोरोना भएको आशंकामा स्वाब परीक्षणका लागि हेटौँडा पठाइएको थियो।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष अस्पतालले जनाएको छ। सबैको नमुना हेटौँडामा रहेको प्रयोगशालामा पठाइएको थियो। कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ।

ज्वरोका कारण मृत्यु भएकाहरुको स्वाब परीक्षणका लागि पठाउने गरिएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए।

यस्तै, बाग्लुङमा कोरोना संक्रमण पुष्टि भएकी ६५ वर्षीया महिलाको परिवारका चारजना सदस्यको थ्रोट स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ ।