विचार

आफ्नो सालिकमुनि सेल्फी खिचाउने एक महान मनुवा

आफ्नो सालिकमुनि सेल्फी खिचाउने एक महान मनुवा

निर्मल भट्टराई । म आफू प्रगतिशील खेमाको विद्यार्थी भएवापत राजकाज मुद्धामा एक बर्ष जेल जीवन विताएर पुःन कलेज फर्केको थिए । पञ्चायती व्यवस्थाका चाटुकार, जसलाई मण्डले नामले चिनिन्थ्यो, मेरो कक्षामा पनि नहुने कुरा भएन । कक्षामा कहिलेकाँही उनीहरुसँग कुम जोडेर बस्नुपर्ने हुन्थ्यो । परिचय भएपछि सहपाठी भएपछि कोहि कोहि पञ्चायतपन्थीहरुसंग पनि मित्रता हुन्थ्यो नै ।

काँठका एकजना मण्डले साथीसँग मेरो राम्रै दोस्ती बन्यो । एक दिन मेरा मण्डले साथीले मलाई उनको घरमा निम्तो गरे । सरकारविरोधी संगठनमा लागेको, जेलनेल भोगेको, भूमिगत पार्टी राजनीतिमा लागेको एक कार्यकर्ता भएकोले जथाभावी हिडडुल गर्ने सुविधा थिएन । भूमिगत पार्टीका आफूभन्दा सिनियर नेताले पञ्चायती व्यवस्थाका हिमायतीसँगको उठबसलाई एक किसिमले वर्जित नै गरेका हुन्थे । विषम र उकुसमुकुस परिस्थितिका बाबजूद मैले ती मण्डले साथीको निम्तो स्वीकारेर शनिवाको दिन सोध्दै खोज्दै उनको घर पुगे म ।

उनको घर पुग्दा मलाई पहाडको आफ्नो घर नै पुगेको आभास भयो । पानी चुहिने खालको फुसको छानो, भान्सा र गाई बाँध्ने संगसंगै हुँदा बेलाबखत पूजाआजामा पण्डितले गहुँत छकेजस्तो गाईले गहुँत छर्कने । मेरो पहाडमा त दाउरा प्रशस्त पाईन्थ्यो काठमा दाउराको अभाव हुदा गोबरको गुईंठा र परालले खाना पकाउनु पर्ने वाध्यता रहेछ । पराल र गुईंठाको गन्ध आउने तर लोकल गाईको दूधमा पकाएको लपक्क ओठमा लाग्ने मिठो चिया खान पाउँदा मलाई हुनसम्मको आनन्द भएथ्यो । मेरा बाले दार्जिलिङ्गतिर पाती पढ्न गएर फर्कदा सिराने बनाएर ल्याएको अर्गानिक चियापत्ती हालेर बनाएर पकाएको चियाको दोसन मेटिएथ्यो । त्यसमाथि साथीको आमाले ममता मिसाएर पकाएको कोदोको तात्तातो ¥याले रोटी खाँदा त आनन्दको सीमै रहेन । साथीकी आमालाई हेरें, उहाँ मुस्कुराउनुभयो, उहाँको नयनमा मेरी आमाकै जति टलपल ममता भरिएको थियो ।

भान्सामा चिया र ¥याले रोटी खाईसकेपछि साथीले मलाई उनको काठले बारेको सानो कोठामा लगे । एकातिर बाँसको किलामा फल्याक विछ्याइएको सानो खाट र विपरीततिरको भित्तामा लाइफन साइजको राजारानीको तस्विर एकै पटक मेरो नजरमा पर्यो । साथीले मलाई प्रेमले खाटमा बस्न संकेत गरे । खाटमा बस्तै गर्दा खाटमुनीबाट केही भाँचिएको गड्याङ्गुडुङ आवाज आयो । म झस्किएँ । “आत्तिनु पर्दैन, यो यस्तै हो, तर बलियो छ, भाँचिदैन,” उनले मन्द किसिमले मेरो ढाड सुम्सुम्याए ।
राजारानीको तस्विरमुनि पूजाका रामग्री देखिन्थे । मैले आफ्नो युवा उत्सुकता दवाउन सकिन र सोधिहालें–“तपाईं त दिनदिनै राजारानीको फोटोमा पुजा गर्नुहुन्छ कि क्या हो ?”

“यी विष्णु भगवानका साक्षात् अवतार हुन् पुजा त गर्नै पर्यो । ” उनले सहज उत्तर दिए । 

“यी विष्णुका अवतार त हुदै होइनन् बरु सामन्तवादका सच्चा नाइके हुन् । यिनलाई पुजा गर्ने होइन साथी, बरु हामी सबै गरिब मिलेर यिनी र यिनले नेतृत्व गरेको पञ्चायती व्यवस्थालाई सदाको लागि लखेट्नु पर्छ बुझ्नु भो ?”

मेरा मण्डले साथीको अनुहार एकाएक बदलियो । साथी त मसंग बहसको भावभङ्गीमा होईन, एक्कासी आक्रमण गर्ने शैलीमा पो उत्रिए ।

“यो ब्रमाण्डमा चन्द्र सूर्य रहेसम्म नेपालबाट राजतन्त्र त हट्दैन हट्दैन, पञ्चायती व्यवस्था पनि तीस बर्ष टिकिसक्यो अब तीस बर्ष कसैले रौं पनि हल्लाउन सक्दैन । तिमीले के बुझ्या छौ राजनीति ?” साथीले पाखुरा सुर्किए । मुड्की खाटमा बजारे । उनको सोचाईभन्दा अलिक फरक कुरा आयो कि पाखुरा सुर्किने र मुड्की बजार्ने बानी रहेछ उनको । साथी तँ तँ र म म शैलीमा उत्रिएपछि हामीविच राजनीतिक कुराकानी अगाडि बढ्ने अवस्था थिएन । हिड्दा हिड्दै यति भनें–“यता कतै भित्तामा लेखेर राख्नुहोस् मित्र, तपाईंको आदर्श पञ्चायती व्यवस्था तीस बर्ष होइन, तीन महिनाभन्दा बढी टिक्दैन । ”

निमन्त्रणा गर्ने साथी नै बम्किन थालेपछि त्यहाँबाट हतार हतार निस्किहाल्नुको विकल्प थिएन मसँग । आफ्नो डेरा पुग्न घण्टौं लाग्ने बाटोमा फर्कदै गर्दा राजनीति वर्गीय हुन्छ भन्ने बाम राजनीतिको कखरा पढ्दै गरेको मेरो दिमाग घुम्यो –“अहिले साथी जति रिसाए पनि हाम्रो वर्गीय धरातल समान भएकाले मेहनत गरेर बुझाउन सके उनलाई पनि बाम राजनीतिमा ढाल्न पकिन्छ ।”

तीन चार महिना यस्तै वितेको हुँदो हो, जनआन्दोलनका प्रतापले पञ्चायती व्यवस्था ढल्यो । कलेज सुचारु भयो । हाम्रो अध्ययन सुचारु भयो । निकै पछि थाहा भयो–साथी त कलेज छोडेर दूधको व्यापार गर्न थालेछन् । विश्वविद्यालयको औपचारिक अध्ययन सकेपछि आफ्नो राजनीति र जीवनवृत्ति संगसंगै अगाडि बढाउन मलाईं फलामको च्यूरा चपाउनुजस्तै कठिन थियो । कलेजका कैयन् साथीहरु विस्मृतिको खाडलमा विलाए । उनलाई पनि मैले लगभग विर्सिसकेको थिए ।

एकदिन अचानक मैले अध्यापन गर्ने कलेजको गेटमा एकजना युवा मलाई खोज्दै आए । उनी तिनै मेरा पुराना मण्डले साथी बन्धुबान्धव बरबरियाको खबर लिएर आएका रहेछन् । “चिसापानीका बन्धुबान्धव दाईले भोलि हजुरलाई बेलुका बस्ने गरी बोलाउनु भएको छ, जसरी पनि आउनू रे ।” युवाले एकै सासमा भने ।
मैले सहमतिको टाउको हल्लाएं “चार बजे पछि आउने रे भन्दिनू ।”

त्यसको भोलिपल्ट करिब साढे चार भएको हुँदो हो, म उनको टोलमा पुगि सकेको थिए। मेरा पाईला सहजै उनको घरतिर अगाडि बढ्न मानेका थिएनन् । मेरो मानसपटलमा उनले पहिलो भेटमा गरेको पाखुरा सुर्कासुर्की फ्ल्यासब्याक हुदैथियो, उनको तँ तँ म म मेरो कानमा गुञ्जदैथियो । अचम्म ! म उनको आँगनमा पुग्दा उनी त यसरी दौडेर आए कि मानौं एउटा स्वामी भक्त कुकुर स्वामीको आगमनमा स्वागत गर्न हतारिरहेछ । एउटा कलेजको सहपाठी, एउटा समान वर्गीय व्यक्ति र उमेर पनि समान भएको साथीको हेक्कै नराखी उनले मलाई करिब पाँच पटक जति धनुष्टङ्कार दण्डवत् गरे र भने –“हजुरले मेरो घर पवित्र पारी बक्स्यो !”

वाफ् रे वाफ् ! हिजो त्यसरी पाखुरा सुर्कने यी मनुवा आज कति नम्र । कति मुलायम शब्द । कस्तो आतिथ्यता । म अवाक् बने । एउ अकिञ्चन जीवलाई अर्को त्यस्तै अकिञ्चन मनुवाले “बक्स्यो” जस्ता राजर्षि शब्दको प्रयोग गर्दा मलाई अघोर अनौठो लाग्नु अस्वभाविक थिएन । उनले मेरो पाखुरा समातेर भित्र लगे । दूधको व्यापार गर्न थालेपछि साथीको आर्थिक अवस्था पहिलेको भन्दा निकै सुध्रिएछ । विगत जोडिएको भान्सामा परिवर्तन भएछ । भान्सासंगैको गाई गोठ हटाएर छुट्टै गोठमा लगिएपछि भान्सा फराक भएछ । ईन्धनको गुईंठा र पराल हटाइएछ र ग्याँसमा खाना पकाउन थालिएछ । तर पहिलो भेटमा साथीकी आमाको ममतामयी मुस्कुराहट हराएसंगै ¥याले रोटीले सदाका लागि विदा भएको थाहा पाउदा भने मेरो मन अमिलो भएको थियो ।

आफ्नै टाट्नामा पालेको हर्वल खसीको पकवान, खेतका आलीमा फलेको कालो मासको गाईको घिऊ हालेर पकाईएको दाल, बेंसीको आफ्नै खेतमा फलेको बास्नादार बेलगुठी चामलको भात र टिमुर हालेको रामभेडाको अचार काठको फराक पिरामा बसाएर खुवाईयो मलाई । खाना खाईसकेपछि मलाई त्यही पुरानै कोठातिर डोहो¥याए । कोठा पनि निकै परिवर्तन भैसकेको रहेछ । लाईफ साईजको राजारानीको फोटो हटाएर एक इण्डियन विश्व सुन्दरीको लाइफसाईजको फोटो राखिएको । बाँसको टेकोमा बनाईएको खाट हटाएर काठको आकर्षक खाट राखिएको । उतापट्टिको खाली ठाउँमा चटक्क परेको सोफा सजाईएको ।

पहिलो भेटमा जस्तै आफूले राजनीतिक विषय उठाउदा तुरुन्त पाखुरा सुर्कासुर्की र तँ तँ र म ममा पुगिएला भन्ने डरका मारे यो पटक म आक्रमक रुपमा नभई बडो प्रतिरक्षात्मक शैलीमा प्रस्तुत हुने योजनामा थिएं । भाग्यवश मेरा साथी बन्धुबान्धब बरबरिया नै कुरा शुरु गर्ने मूडमा देखिए । “हेर्नुहोस् हजुर, आफू त अध्ययन राम्ररी गर्न सकिएन, मेरा सानाबाले एस एल सी परिक्षामा चिट चोर्न मिल्ने वातावरण नमिलाई दिएको भए तपाईं र मेरो कलेजमा भेट हुने नै थिएन । शैक्षिक योग्यता नभएपछि जागिर खान जाने कुरै भएन । यो राजावादी पार्टीमा कुद्दा कुद्दै हैरान भैसकें म । तात्तो न छारो । केही हुने होईन । त्यही भएर तपाईसंग विशेष छलफल गरौं भनेर ।” उनले मुख अमिलो बनाउदै भने । यति भन्न उनले चार पटक जम्ला हात गरिसकेका थिए ।

“यसमा आत्तिनु पर्ने कुरा के छ र रु समय बदलिएको छ । जनता सार्वभौम भएका छन् । अघिल्लो भेटमा तपाईंले तीस बर्ष ढल्दैन भनेको पञ्चायती व्यवस्था तीन महिनामै ढल्यो । तपाईंले चन्द्र सूर्य रहेसम्म रहन्छ भनेको राजतन्त्र समेत लड्खडाउदै छ । हामी मिलेर राजनीति गरौं, वर्गीय राजनीति गरौं ।” मैले भनें । “अब जागिर खान नसक्ने भएपछि नपढी पनि गर्न मिल्ने र सकिने राजनीति गर्ने र तपाईहरुको पार्टीमा सामेल हुने मनशाय छ मेरो । मेरो समस्या के हो भने हिजो राजाको जयजयकार गरे पुग्थ्यो । तपाईंको पार्टीमा त मासवाद के के–– ” उनी विचमै रोकिए ।

राजनीति गर्नेले सबभन्दा बढी अध्ययन गर्नु पर्छ भनौं जस्तो लागेको थियो तर साथी निरास होलान् भन्ने भयले मैले त्यसो भनिन । बरु एक शिक्षकले विद्यार्थीलाई पढाएझैं गरी भन्दै गए । हाम्रो राजनीति वर्गीय हुन्छ । हामी आफ्नो वर्गका सबैलाई उत्तिकै माया र सम्मान गर्छौ । हामी हाम्रो राजनीतिलाई त्यही वर्गको सेवामा समर्पित गर्छौं ।
हामी सर्वहारा श्रमजीवी वर्गलाई माया गछौं, सामन्ती दलाल र पूँजीपति वर्गलाई घृणा गछौं ।

तपाईंले हिजो राजालाई गरेजस्तो एकोहोरो जयजयकार कसैको गर्दैनौं, बरु गुण र दोषको आधारमा समर्थन र आलोचना गछौं । हामी द्वन्दवादी हौं ।
हामी माक्र्सवाद र लेनीनवादलाई मार्गदर्शक सिद्धान्त मान्छौं ।

हामी हाम्रा साथीलाई कमरेड भनेर सम्बोधन गछौं, आईबक्स्योस् गईबक्स्योस् भन्ने पदावली हाम्रो शब्दकोषमा छैन । हामी मुठ्ठी उठाएर लालसलाम गर्छौं ।
साथीले एक टक सुनिरहे । समयले नेटो काटिसकेको थियो । सुत्ने तरखर भयो । उनको राजनीतिक जीवनको पूर्ण सुरक्षा गर्ने बचन दिएपछि उनी पार्टीमा सामेल भएर राजनीति गर्न सम्पूर्ण रुपमा सहमति जनाए । छुट्ने बेलामा मुठ्ठी उठाएर भने–“लालसलाम कमरेट !”

लगत्तै एक भव्य कार्यक्रम आयोजना गरियो । साथी पार्टी प्रवेश गरे । कमरेड बन्धुबान्धब बरबरिया पार्टीमा सक्रिय बने । पार्टी प्रवेश गर्ने बेलाको नम्रता हराउदै गयो । उनले आफ्ना कमरेडहरुलाई ‘कमरेट’ भनेर बोलाईमात्र रहेनन्, कसैको कम रेट र कसैको बढी रेट तोक्न पनि पछि परेनन् । कमरेड विस्तारै अररा बन्दै गए । फेरि प्रथम भेटको जस्तो पाखुरा सुर्कासुर्की र तँ तँ म म शुरु भयो । उनको पुरानै सामन्ती संस्कार पटक पटक दोहोरिएको देखेपछि मलाई विश्व कम्युनिष्ट आन्दोलनका महान नेता माओत्सेतुङ्गको भनाई ‘राजनीति र अर्थनीति चाडै परिवर्तन हुनसक्छ, तर संस्कृति र संस्कार समाजमा यति धेरै गढेको हुन्छ कि यो परिर्वतन हुन हजार बर्ष लाग्न सक्छ’ मलाई स्मरण भईरह्यो ।

रातारात उनको जयजयकार शुरु भयो । पुराना, भूमिगत कालदेखि दुःख गरेका कमरेडहरु ‘कम रेट’ भए । कोही आयतित कहलाईए, कोही संकीर्ण नेवार, कोही भाट बुद्धीजीवी । उनीमात्र रैथाने, उनीमात्र अर्गानिक,उनको सधैं बढी रेट । निर्वाचन आयो । उनले चुनाब जिते । जिल्लाका सर्वश्रेष्ठ नेता कहलाइए । हालै म आफ्नो कामको सिलसिलामा बानेश्वरतिर बरालिदै थिए। मेरा पुराना मण्डले र हाल महान क्रान्तिबारी, ओजश्वी, सर्ववेत्ता र सर्वशक्तिमान कमरेड बन्धुबान्धब बरबरियासंग अचानक भेट भयो ।

“लाल सलाम कमरेट !” भन्दै हात मिलाए । हात मिलाउदा तीन तोलाजतिको सुनको सिक्रीले मेरो औंला चिसो भएथ्यो । मेरो भर्खर बनाएको घरमा चिया खाने भन्दै उनले मलाई डोहा¥याए । उनको घरको मूल गेट आफैं खुल्यो । पाँचवटा नयाँ ब्राण्डका गाडी पार गरेर हामी लिफ्टतिर अगाडि बढ्यौं । लिफ्टबाट सातौं तलामाथि पुगियो । भव्य सोफा सजाईएको स्वागत कक्षमा हाम्रो भलाकुसारी शुरु भयो ।

मेरो दिमागमा तपाईंको यत्रो वैभव कसरी भन्ने प्रश्न उब्जदै गर्दा उनले घण्टी बजाए, दराजबाट उनको जिल्लाको नक्सा निकालेर टेवलमा राखे र भन्न थाले ः
“यो घर मैले भर्खर बनाएको हो । यी यो नक्शामा हुर्नुहोस् कमरेट यी पाँचवटा सन्दर हाईटमा एक एक रोपनीमा मेरा घर बन्दैछन् । मैले पढ्न नसकेको बहुत ठीक भएछ । तपाईं जति पढेको भए म पनि तपाईंजस्तै जागिरे हुने थिएं । प्रध्यापक हुने थिएँ । केही न केही । कमरेटलाई विशेष धन्यवाद छ । कमरेटले मलाई सर्वहारा वर्गको राजनीति गर्न नसिकाएको भए म त्यही चिसापानीमा गोबर सोहोर्दै हुन्थे हुँला । हा हा !”

साथीले यति भनेपछि मलाई प्रश्न गर्ने आँट आयो–सर्वहारा वर्गको राजनीति गरेर यति चाँडो यत्रो श्री सम्पत्ति कसरी ?”
“हेर्नुस् कमरेट, हुन त तपाईं पनि सर्वहारा वर्गको राजनीति गर्ने, म पनि सर्वहारा वर्गकै राजनीति गर्ने हो । तर ममा अलिकति फरक छ, मचाहिँ दिनभरि सर्वहारा, रातभरि अर्वहारा ! हा हा”

“तपाईं त चुनाब जितेको नेता पनि हो । तपाईंलाईं भोट दिएर जिताउने ती गरिब, सर्वहारा जनतालाईचाहिँ के त ?” मैले मुटु गह्रौं बनाएर फेरि सोधें ।
“जनतालाई ? जनतालाई त चुनाबमा दिने हो, दुईचार करोड खर्च गर्ने हो, मासु–चिउरा र रक्सी खुवाउने हो बस् । अब त मलाईं मेरो जिल्लाका टोल टोलको रेट थाहा भइसक्यो । ”

मलाई त्यहाँबाट कतिवेला बाहिर निस्कौं भन्ने लागिरहेको थियो । अन्त्यमा मैले जबर्जस्ती सोधें–“कमरेडको भावी योजना केही ?”

“मेरो भावी योजना खास केही छैन । मैले जे गर्नु गरिसके । मेरा परिवारका सबै सदस्यको लागि मैले यथोचित व्यवस्था गरिसकें । यो नक्सामा फेरि हेर्नुस् । यो पाँचसय रोपनीको सरकारी जग्गा हो, यसलाई मेरो यही कार्यकालमा बन्धुबान्त्रब पार्क घोषणा गर्ने र यसको विचमा नेपालमा हालसम्म बनेका देउता र मानिसका मूर्ति र सालिकभन्दा अग्लो मेरो सालिक बनाउन बजेट विनियोजन गर्ने तयारीमा छु । सालिक बनिसकेपछि सोही सालिकमुनि उभिएर सेल्फी खिच्ने मेरो एकमात्र धोको बाँकी छ कमरेट । ”

कफी आयो । कफीसंगै विदेशी ब्राण्डका विस्कुट पनि टक्र्याइयो । साथीसंगको पहिलो भेटमा साथीकी आमाले दिएको ममता मिश्रित ¥याले रोटी सम्झदै केही टुक्रा विस्कुट र कफी खाएर म निस्किन हतारिए ।  साथीले क्रान्तिकारी पारामै मलाई विदाई गरे–“लालसलाम कमरेट !”