समाचार विदेश

कोरोनाभाइरस चीनको प्रयोगशालामा बनाइएको हो ?

कोरोनाभाइरस चीनको प्रयोगशालामा बनाइएको हो ?

अमेरिकी विदेशमन्त्रालयले दूतावासका अधिकारीहरूसँग गरेका कूटनीतिक पत्राचार वा कुराकानीमा उनीहरू चीनको वुहानस्थित भाइरस प्रयोगशालाले अपनाएको जैविक सुरक्षाका उपायलाई लिएर चिन्तित रहेको पाइन्छ ।

सो प्रयोगशाला कोरोनाभाइरसको पहिलो प्रकोप देखिएको शहरमा रहेको छ । जहाँबाट कोरोनाभाइरस रोगको उत्पत्ति भएको थियो र अहिले विश्वमा माहामारीको रुपमा फैलिएको छ ।

उक्त नयाँ भाइरस मानवनिर्मीत भएको समाचारहरु बारेमा पनि चर्चा हुँदै आएका छन् । केही समयअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भाइरस उक्त प्रयोगशालाबाट बाहिरिएको बताएसँगै यी विषयलाई अमेरिकी सरकारले नियालिरहेको बताएका थिए।

त्यसोभए यो पछिल्लो विकासक्रमले वर्तमान महामारीको हाम्रो बुझाइमा के जानकारी वा ज्ञान थप्छ त ?

वाशिङ्गटन पोस्ट पत्रिकाले कूटनीतिक पत्राचारबाट प्राप्त जानकारीबारे समाचार बनाएको छ। उसका अनुसार सन् २०१८ मा अमेरिकी विज्ञान कूटनीतिज्ञहरूलाई चिनियाँ अनुसन्धान केन्द्रमा पटकपटक पठाइएको थियो ।

ती अधिकारीहरूले प्रयोगशालामा अपर्याप्त सुरक्षा रहेको चेतावनीबारे वाशिङ्गटनलाई दुईपटक पत्राचार गरेर जानकारी गराएका थिए।

उनीहरूले वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्ल्यूआइभी)मा सुरक्षा र व्यवस्थापनसम्बन्धी कमजोरी रहेको औँल्याएका थिए।

साथै ती कूटनीतिज्ञहरू सो प्रयोगशालाले चमेरामा हुने कोरोनाभाइरसको अनुसन्धान गरिरहेको र त्यसले सार्सजस्तो महामारीको जोखिम बढाएको उल्लेख गरेका थिए ।

उक्त पत्रिकाका अनुसार ती पत्राचारले अमेरिकी सरकारभित्र अहिले कतै वर्तमान महामारीको स्रोत सोही प्रयोगशालाको भाइरस त होइन भन्ने छलफल चलेको छ। फक्स न्यूजले पनि सोहीबारे विवरण प्रस्तुत गरेको छ।

गत वर्षको अन्तिमतिर जब वर्तमान महामारी देखियो त्यतिखेर त्यसलाई वुहानको विविध जनावरका मासु किनमेल हुने बजारसँग जोडियो।

अनलाइनमा त्यसबारे निकै चर्चा भएपनि सार्स-कोभ-२ भाइरस ,जसले कोभिड-१९,रोग गराउँछ, त्यो प्रयोगशालाबाट दुर्घटनावश बाहिर फैलिएको भन्ने कुनै प्रकारको प्रमाण भेटिएन ।

प्रयोगशालामा कस्ता सुरक्षा हुन्छन् ?

विश्वभरि भाइरस तथा ब्याक्टेरिया जस्ता जीवाणु अध्ययन गर्ने प्रयोगशालाहरूमा बीएसएल अर्थात् बायोसेफ्टी लेभल भनिने प्रणालीबद्ध रूपमा सुरक्षाका उपाय अपनाइएका हुन्छन् । खतराको स्तर हेरिकन प्रयोगशालाहरू बीएसएल १ देखि ४ सम्म वर्गीकरण गरिन्छन्।

जसमा बीएसएल १ भनेको मानिसलाई जोखिम नहुने जीवाणु अध्ययन गर्ने प्रयोगशालाले अपनाउँछ भने बीएसएल ४ चाहिँ खतरनाक जीवाणु अनुसन्धान गर्ने प्रयोगशालाले अपनाउँछन्।

यो वर्गीकरण अन्तर्राष्ट्रिय रूपमै अवलम्बन गरिएका हुन्छन्। तर देशदेशबीच थोरै फरक भने हुन्छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विभिन्न प्रयोगशालाले अपनाउनु पर्ने विभिन्न स्तरका सुरक्षाबारे निर्देशिका जारी गरेको छ। तर त्यसलाई अनिवार्य लागु गराउने सम्बन्धी कुनै अन्तर्राष्ट्रिय सन्धि भने छैन।

“ती निर्देशिका प्रयोगशालामा काम गर्नेहरूको सुरक्षा तथा तिनले आफूलाई वा समुदायलाई सङ्क्रमित नगरुन् भनेर बनाइएका छन्। साथै त्यसमा दुर्घटनावश जीवाणु बाहिर नफैलियोस् भन्ने बारे सुरक्षाका उपाय हुन्छन्,” किङ्स कलेज लण्डनकी बायोसेक्युरीटी विज्ञ डा फिलिपा लेन्जसले बताइन्।

अन्तर्राष्ट्रिय साझेदारहरूसँग पैसा लिन वा सहयोग गर्न प्रयोगशालाहरूमा यथोचित सुरक्षाका उपाय अपनाइएको हुनुपर्ने अभ्यास चलेको उनले बताइन्।

वुहानको प्रयोगशाला डब्ल्यूआइभीले पनि अमेरिका तथा अमेरिकी अनुसन्धान संस्थाहरूबाट आर्थिक सहयोग विगतमा पाएको छ। विगतका कूटनीतिक पत्राचारमा तिनलाई थप सहयोगको सुझाव पनि दिइएका छन्।

पत्राचारमा कस्ता कमजोरी औँल्याइएका थिए ?

छोटकरीमा भन्नु पर्दा वाशिङ्गटन पोस्टमा उल्लेखित जानकारीबाट त्यो थाहा हुँदैन।

सामान्यतया प्रयोगशालामा विविध किसिमका सुरक्षा कमजोरी हुनसक्छन्।

“तिनमा कसले प्रयोगशालामा पहुँच पाएका छन्, वैज्ञानिक तथा प्राविधिकहरूलाई तालिम तथा पुनर्ताजगी तालिमको अवस्था के छ, लगत राख्ने प्रक्रिया कस्तो छ, जीवाणुहरूको सूची, दुर्घटना भए त्यसको जानकारी दिने प्रक्रिया, अनि आपतकालीन प्रक्रिया कस्तो छ भन्नेसँग सम्बन्धित हुन्छ,” डा लेन्जसले भनिन्।

तर ती कूटनीतिक पत्राचारमा उल्लेखित चिन्ता कति अस्वाभाविक थिए?

दुर्घटनाहरू भएका छन्। सन् २०१५ मा वाशिङ्गटन नजिकैको एउटा अनुसन्धान केन्द्रमा विफरको भाइरस राखिएका भायलहरू (औषधि वा खोप राखिनेजस्ता साना सीसी)हरू कार्डबोर्डमा भेटिएको थियो।

त्यस्तै सन् २०१५ मा अमेरिकी सेनाले झुक्किएर घातक एन्थ्य्राक्सको सक्रिय नमुनाहरू देशभरिका नौवटा प्रयोगशाला अनि दक्षिण कोरियास्थित सैन्य अखाडामा पुर्‍याएको थियो। जबकि निस्क्रिय नमुना लैजानुपर्ने थियो।

अत्यन्त घातक जीवाणु अनुसन्धान गर्ने बीएसएल ४ स्तरका प्रयोगशाला थोरै छन्। विकिपिडियामा संसारभरिका जम्मा ५० वटा त्यस्ता प्रयोगशाला सूचीकृत पाइन्छन्।

सामान्यतया यस्ता प्रयोगशालामा अत्यन्त कडा सुरक्षाका उपाय अपनाइएका हुन्छन्। त्यसैले तिनले पालना गर्ने प्रक्रियाबारे कुनै चिन्ता हुनु अलि असामान्य नै हो।

(बीबीसी न्यूजका विज्ञान सम्पादक पल रिन्कनको लेखको भावानुवाद)