समाचार अर्थ

४० लाख कुखुराको चल्ला खाल्डोमा पुरियो

४० लाख कुखुराको चल्ला खाल्डोमा पुरियो

दैनिक तीन करोडको कारोबार हुने कुखुराको चल्लाका व्यवसायी पूर्ण अहिले पूर्ण रुपमा ठप्प छ । भएका चल्लाहरु पनि खाल्डोमा पुरिरहेका छन् । पछिल्लो एक हप्तामा मात्र ४० लाख कुखुराको चल्ला खाल्डोमा पुरिसकेका छन् ।

यसको मुख्य कारण हो, बजारमा कुखुरा व्यवसायी तथा किसानले ह्याचरी उद्योगबाट चल्ला खरिद नगर्दिनु । ‘भएका कुखुरा पनि खाल्डो खनेर गाड्नु बाहेक अरु कुने उपाय छैन, अनि चल्ला खरिद गरेर के गर्नु ?,’ किसानहरु भन्छन्, ‘भएको कुखुरा पनि बिक्री हुँदैन । त्यसलाई बचाउनका लागि दाना पनि छैन । कुखुरा सप्लायरहरु पनि केरोनाको त्रास देखाएर सस्तोमा मागिरहेका छन् । त्यसैले त्यसलाई खाल्डोमा पुर्नुबाहेक अरु कुनै उपाय छैन ।’

कुखुरा उत्पादन गर्ने किसानले चल्ला लिन बन्द गरेपछि भएका चल्लालाई पुर्ने र थप उत्पादन गर्ने काम बन्द भएको छ । कुखुरा उत्पादन गर्ने किसानसँग अहिले सबभन्दा ठूलो समस्या भनेको दाना हो, दाना व्यावसायीले किसानलाई उधारोमा दाना दिइरहेका छैन  र किसानसँग अहिले नगद पैसा पनि छैन ।

कुखुरा बिक्री नभएको कारण किसानको हातमा नगद पैसा आएको छैन । केही किसानसँग बैङ्कमा पैसा भए पनि लिन जानसकेका छैनन् । त्यही भएर कुखुरा पाल्ने किसान चौतर्फी मारमा परेका छन् ।