समाचार स्वास्थ्य

धनगढीमा कोरोना परीक्षणका लागि पिसिआर मेसिन जडान

धनगढीमा कोरोना परीक्षणका लागि पिसिआर मेसिन जडान

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमण जाँच गर्ने पिसिआर मेसिन जडान भइरहेको छ ।

संघीय सरकारले कोरोना भाइरस कोभिड १९ जाँच गर्ने मेसिनसहितका आवश्यक उपकरण पठाएपछि बुधबार बिहानदेखि जडान सुरु भएको छ । मंगलबार साँझ सेनाको हवाई ट्रक मार्फत मेसिन र किट लगायतका सामान धनगढी पुर्‍याईएको थियो । बुधबार बाईसेफ्टी क्याविनेट समेत धनगढी पुगेपछि जडान सुरु भएको सेती प्रादेशिक अस्पतालका कोरोना भाईरस हेर्ने फोकल प्रशन डाक्टर जगदीश जोशीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको लागि आएका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिल प्रसाद लेखकले स्वास्थ्य कार्यालयमा प्रयोगशाला स्थापनाको काम सुरु गरेको बताए ।

उनले भने–‘मेसिन स्टल र भ्यालीडेसनको काम चाँडै सकियो भने, आज साँझ नै परीक्षणको काम शुरु गछौं ।’ उनका अनुसार उक्त मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिपोर्ट आउनेछ ।