विदेश

कोराना भाइरसबाट इटालीमा एकै दिन १३३ जनाको ज्यान गयो

कोराना भाइरसबाट इटालीमा एकै दिन १३३ जनाको ज्यान गयो

बीबीसीः कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन १ सय ३३ को ज्यान गएको छ । योसँगै इटालीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६६ पुगेको अधिकारीहरूले जनाएका छन् । भाइरस संक्रमितहरुको संख्या २५ प्रतिशत बढेर ७ हजार ३ सय ७५ पुगेको छ ।

लोम्बर्डी र १४ वटा प्रान्तका एक करोड ६० लाख मानिसलाई क्वारन्टाइनमा बस्न आइतबार निर्देशन दिइएको हो । क्वारेन्टाइनमा नबसी भागेमा तीन महिना जेलमा रोख्ने चेतावनी समेत दिइएको छ । 

प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशभरिका विद्यालय, व्यायामशाला, संग्राहलय, रात्रि क्लब र अन्य स्थल बन्द गर्ने घोषणा पनि गरेका छन् । उक्त निर्णय एप्रिल ३ सम्म लागु हुनेछ । 

कोरोना भाइरसको संक्रमणबाट चीनपछि इटाली सबैभन्दा प्रभावित देश बनेको छ । इटालीको सरकारी ध्वजावाहक एलइटालियाले मल्पेन्सा विमानस्थलबाट हुने सबै उडान सोमवारबाट रद्द गरिने र लिनाटे विमानस्थलमा आन्तरिक उडान मात्र हुने जनाएको छ । 

यस्तै दक्षिण कोरियामा ७ हजार ३ सय ८२ मानिस भाइरस संक्रमित र ५१ को मृत्यु भएको छ । इरानमा १ सय ९४ को मृत्यु भएको छ भने ६ हजार ५ सय ६६ संक्रमित भएका छन् । 

विश्वभरी कोरोना भाइरस संक्रमितहरुको संख्या १ लाख ५ हजार र मृत्यु हुनेको संख्या करिब ३६ सय पुुगेको पुष्टि भएको छ । 

कोरोना भाइरस इटाली