अर्थ

एनसेलले पुँजीगत लाभकर बापत थप चार अर्ब ६० करोड तिर्‍यो

एनसेलले पुँजीगत लाभकर बापत थप चार अर्ब ६० करोड तिर्‍यो

एनसेलले पुँजीगत लाभकर बापत चार अर्ब ६० करोड रुपैयाँ सरकारलाई बुझाएको छ। एनसेलले मंगलबार ठूला करदाता कार्यालयमा बक्यौतामध्येको कर बुझाएको हो।

सर्वोच्च अदालतको फैसलापछि एनसेलले कुल कर निर्धारणको करिव २० प्रतिशत यसअघि बुझाइ सकेको थियो। एनसेलले यसअघि ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको थियो।

एनसेललाई सरकारले सुरुमा २२ अर्ब ४४ करोड रुपैयाँ कर निर्धारण गरेको थियो। पत्र काटेपछि पनि ब्याज रकम बृद्धि भइरहेको थियो। २२ अर्ब ६७ करोड तिर्नु पर्नेमा उसले साढे ४ अर्ब बुझाएको थियो।

एनसेलले चालु आर्थिक बर्षभित्र सबै कर बुझाइ सक्नु पर्ने छ।

एनसेलले बाँकी कर तिर्नका लागि किस्ताबन्दी सुविधा माग गरेको थियो। ठूला करदाता कार्यालयले पनि असारसम्म कुन कुन महिना कतिकति तिर्ने भनेर तालिका दिएको थियो।

बाँकी कर तिर्नका लागि एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा आधा दर्जन बैंकसँग ऋण माग गरेको छ। एनसेलको ठूलो रकम एभरेष्ट बैंकमा थियो। त्यसपछि नबिल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन लगायतका बैंकसँग थियो। एनसेलले नेपाली र डलर दुबै खातामा रहेको निक्षेप चार्टर्ड बैंक सारेको थियो। यसबाहेक थप पैसाका लागि उसले ऋणको जोहो गर्न थालेको हो।

एनसेलले अहिलेसम्म कुल ३२ अर्ब ५७ करोड रुपैयाँ सरकारलाई बुझाइसकेको छ।