समाचार स्वास्थ्य

सङ्क्रमित युवतीलाई घरसम्म पुर्‍याउने चालकको पहिचान

सङ्क्रमित युवतीलाई घरसम्म पुर्‍याउने चालकको पहिचान

कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्‍याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ ।

पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्र्छे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य छ ।

उनलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन् । युवतीलाई गत शनिबार कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि पोखराबाट बागलुङ घरसम्म पुग्न उनले गाडी रिजर्भ गरेको खुल्न आएपछि सो गाडीका चालकको खोजी शुरु भएकामा आइतबार चालक स्थानीय जनप्रतिनिधिको सम्पर्कमा आएका हुन् ।

सोही दिन परीक्षणका लागि पोखरा आएका उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिएकाले सामान्य तापक्रम जाँच गरेर घरमा पठाइएको थियो ।

स्थानीयवासीले भने उनको स्वाब परीक्षण गर्न माग गरेका छन् । गत चैत ४ गतेपछि लामो समय चालकको अन्य व्यक्तिसँग सम्पर्क भएकाले स्थानीय अहिले त्रसित भएको र उनको स्वाब परीक्षणको माग गरेका हुन् ।