समाचार अर्थ

आयातको ढोका बन्द, भन्सार राजस्व गुम्यो 

आयातको ढोका बन्द, भन्सार राजस्व गुम्यो 

‘लकडाउन’को कारण मानिसको आवज जावत नै ठप्प छ । सीमा नाकाहरु बन्द छन् । भन्सार विभागका अनुसार ‘लकडाउन’अघि आयात निर्यात सामान्य अवस्थामै भएपनि ‘लकडाउन’पछि यो अवस्था ठप्प छ । चैत २५  गतेसम्मका लागि ‘लकडाउन’ भनिएपनि यो अवस्था अझै बढ्न सक्ने देखिन्छ । भन्सार व्यापार ठप्प भएपछि राजस्व  गुमेको छ । आम्दानी कम हुँदा आयकर घट्ने र सामानको खपत नहुँदा मूल्य अभिबृद्धिकर घट्नेछ जसका कारण चैतको अन्त्यसम्ममा राजस्व नराम्ररी प्रभावित हुने निश्चित छ ।

अहिले अमेरिकी डलर १२० रुपैयाँ पुगेको छ । मंहगो डलरले कमजोर पारेको नेपाली रुपैयाँका कारण कोरोनाले ग्रसित अर्थतन्त्रमा थप आहत दिएको छ । नेपाल राष्ट बैंकका अनुसार आइतबार (चैत १६) एक अमेरिकी डलरको खरिद मूल्य ११९ रुपैयाँ ४८ पैसा र बिक्री मूल्य १२० रुपैयाँ ८ पैसा रह्यो । आयातमा बढी निर्भर रहनुपर्ने अर्थतन्त्रमा डलरको मूल्य बढ्दा मूल्यबृद्धि स्वभाविक रुपले आकासिन्छ । तर निर्यात बढाउन सके यसबाट लाभ भने लिन सकिनेछ । यद्यपि, अहिले ‘लकडाउन’ले आयात निर्यात दुबै ठप्प छ ।

डलर बढ्दा पर्यटन क्षेत्रले तुलनात्मक रुपमा लाभ लिन सक्छन् । तर अहिले पर्यटन क्षेत्र सबैभन्दा बढी थला परेको छ । अर्कोतर्फ डलरमा भित्रने रेमिट्यान्सलाई पनि अहिलेको कोरोना महाव्याधिको विश्वव्यापी प्रकोपले ठूलै धक्का दिइसकेको छ । अहिले वैदेशिक रोजगारमा जान बन्द छ । वैदेशिक रोजगारमा रहेकाहरु प्नि ‘लकडाउन’का कारण घरभित्रै बन्द छन् । उनीहरुले आम्दानी गर्न सकेका छैनन् ।