राजनीति

चिकित्सकको मनोबल उच्च पार्न सशांकको अपिल

चिकित्सकको मनोबल उच्च पार्न सशांकको अपिल

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकभरका स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमणको उपचार तथा रोकथाममा उच्च मनोबलका साथ कार्य गर्न अपिल गरेका छन् ।

सरकार र स्वास्थ्यकर्मीका नाममा एक चिकित्साकर्मीका नाताले  एक अपिल जारी गर्दै उनले कुनै पनि स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहने उल्लेख गरेका छन् । “चिकित्सकमा रहेको त्यही मानवीय भावना, समर्पण र साहस नै आजको विश्वव्यापी महामारीबाट बाहिर निस्कने मुख्य मार्ग हो । म नेपालभरिका सबै स्वास्थ्यकर्मीमा आजको यो प्रतिकूल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मीसमेतका नाताले अपिल गर्दछु”, उनले भने।

 

महामन्त्री डा कोइरालाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नलाई काँग्रेसले निरन्तर साथ दिँदै आएको र लकडाउनको पालना गरेर जनताले यो सङ्घर्षप्रति ऐक्यबद्धता जनाइरहेको उल्लेख गरेका छन् । उनले परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा सङ्घर्षमा जीत हासिल गर्नुपर्ने बताएका छन् ।