समाचार खेल

विम्बल्डन टेनिस स्थगित गर्ने तयारी

विम्बल्डन टेनिस स्थगित गर्ने तयारी

इंग्ल्यान्डको लन टेनिस एसोसियसनले यस वर्षको विम्बल्डन टेनिससहित अन्य प्रतियोगिताबारे छलफल गर्न बैठक बोलाएको छ ।

कोरोना भाईरसले महामारीको रुप लिईरहेको बेला एसोसियसनले अर्को साता बैठक बोलाएको हो ।

उक्त बैठकले विम्बल्डनसहित अन्य प्रतियोगिता स्थगित गर्ने वा रद्द गर्ने भन्ने बिषयमा टुंगो लगाउने छ । यस्तै कोर्ट बन्द गरेर खेलाउने बिषयमा समेत छलफल हुनेछ ।

विश्व टेनिसको ठुलो प्रतियोगिता मध्येको एक विम्बल्डन जुन २९ देखी जुलाई १२ सम्म आयोजना हुने तालिका रहेको छ ।

तर, कोरोनाको कारण विश्वभरका ठुला प्रतियोगिता स्थगित हुँदा विम्बल्डन समेत स्थगित हुने सम्भावना रहेको बताईएको छ ।

आयोजक समेत जोखिम मोलेर प्रतियोगिता नगर्ने योजनामा रहेको बताईएको छ ।

कोरोनाको कारण इंग्ल्यान्डको फुटबल अप्रिल ३० सम्म स्थगित भएको छ । यस्तै यसै वर्ष आयोजना हुने युरो कप र ओलम्पिक खेलकुद समेत एक वर्ष सारिएको छ ।