समाचार विदेश

अमेरिकाले ल्यायो २० खर्ब डलरको आर्थिक सहायता प्याकेज

अमेरिकाले ल्यायो २० खर्ब डलरको आर्थिक सहायता प्याकेज

अमेरिकाले कोरोना भाइरसका कारण थलिएको आर्थिक क्षेत्रको उद्धारका लागि २० खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट समस्यामा परेको आर्थिक क्षेत्रलाई सहायता दिन २० खर्ब डलरको सहायता कोष बनाउन अमेरिकी संसदमा सहमति जुटेको हो ।

सत्तारुढ रिपब्लिकन र विपक्षी डेमोक्रेटबीच निकै चरणको वार्तापछि अमेरिकी माथिल्लो सदन सिनेटमा सहायता प्याकेजमा सहमति बनेको सिनेटर मिट्च मककोनेललाई उधृत गर्दै अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।

प्याकेजमा अमेरिकी नागरिकलाई प्रत्यक्ष भुक्तानी, साना व्यवसाय, बेरोजगार राहत र हवाई सेवा प्रदायकलाई वित्तीय सहयोग योजना छन् ।
कोरोना भाइरसको कारण अमेरिका सबैजसो शहर बन्द छन् भने बेरोजगारी ३० प्रतिशतसम्म पुग्नसक्ने अनुमान छ ।

२० खर्बको यो आर्थिक सहायता प्याकेज अमेरिकाले ल्याउन लागेको अहिलेसम्मकै ठूलो आर्थिक सहायता कार्यक्रम हो । यो सहायता प्याकेज अमेरिकामा एक वर्षमा उठ्ने कूल राजस्वको आधाभन्दा बढी हो ।

अमेरिका कोरोना भाइरसबाट तेस्रो सबैभन्दा प्रभावित मुलुक हो । अमेरिकामा यो भाइरसबाट संक्रमित हुनेको संख्या ५४ हजार ८८१ पुगेको छ भने ७८२ जनाले ज्यान गुमाइसकेका छन् ।