समाचार अर्थ

विद्यूतको माग घट्यो, जतिसक्यो प्रयोग गरौं

विद्यूतको माग घट्यो, जतिसक्यो प्रयोग गरौं

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युत्को माग (लोड) पनि ह्वातै घटेको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युत्को माग ह्वातै घटेको हो । विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युत्को प्रयोग भइरहेकाले अहिले विद्युत्को लोड घटेको हो । 

लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युत्को अधिकतम माग (पिक डिमाण्ड)  १ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार घटेर ९ सय ४५ मेगावाटमा सीमित भएको छ । पिक डिमाण्ड साँझ ७ बजे रेकर्ड गरिएको हो ।

विद्युत् बढी खपत हुने काठमाडौँ उपत्यकाको विद्युत्को माग पनि ह्वातै घटेको छ । लकडाउनभन्दा पहिले विद्युत्को अधिकतम माग  साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार मुलुकभरको माग ९ सय ४५ मेगावाट हुँदा काठमाडौं उपत्यकाको २ सय ९० मेगावाटमा सीमित भएको छ । काठमाडौं उपत्यकामा मंगलबार विहान विद्युत्को माग १ सय ३ मेगावाट र राति १ सय १७ मेगावाट रेकर्ड गरिएको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको विद्युत्को माग  १ सय ४ मेगावाट मध्यान्ह १२ बजे १ सय ८२ मेगावाट पुगेको छ ।

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग ‘ड्रास्टिकल्ली’ घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

ADVERTISEMENT