राजनीति

संघीय संसद्‍मा क्‍वारेन्टाइन स्थापना

संघीय संसद्‍मा क्‍वारेन्टाइन स्थापना

संघीय संसद् सचिवालयले क्वारेन्टाइन स्थापना गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को संक्रमण नेपालमा फैलिने पूर्वानुमानसहित सिंहदरबारस्थित संसद सचिवालयका दुई भवन र नयाँ बानेश्वरमा रहेको संसद भवनमा सेवा दिने गरी क्वारेन्टाइन स्थापना गरिएको हो ।

कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न संसद भवनमा क्वारेन्टाइन स्थापना गरिएको हो। संसद सचिवालयले आइतबार क्वारेन्टाइन स्थापना गर्ने र सरसफाइ तथा 'स्प्रे' छर्ने निर्णय गरिएको संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले बताए।

संसद्‍मा स्थापना भएको क्वारेन्टाइनले संसद्का पदाधिकारी, सांसद, कर्मचारी, संसद्‍मा आउने व्यक्तिहरूका लागि सेवा दिने सचिवालयले जानकारी दिएको छ।

ज्वरो आएमा वा कोरोनाका लक्षण देखिएका व्यक्तिलाई सेवा दिन क्वारेन्टाइन स्थापना गरिएको संसद् सचिवालयका चिकित्सक डा. पुष्पराज रिजालले जानकारी दिए। 


संसद् सचिवालय परिसर र संसद् भवनमा, संसद् सचिवालय प्रवेश गर्ने सवारीसाधनमा कीटनाशक छर्ने क्रम थालिएको उनले जनाए। संसद् भवनमा सांसद बस्ने कुर्सीलाई पनि निर्मलीकरण गर्न थालिएको छ।

प्रतिनिधिसभा बैठक १३ गते बोलाइएको छ। त्यस्तै, राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ।