समाचार स्वास्थ्य

स्वास्थ्य मन्त्री ढकाललाई कारवाही गर

स्वास्थ्य मन्त्री ढकाललाई कारवाही गर

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारी नियमको धज्जी उडाएका छन् । संवेदनशिलघडीमा नियम पालना नगर्ने स्वास्थ्य मन्त्रीलाई कारवाही गर्नुपर्ने माग पनि उठेको छ । 

सरकारले कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन गत बुधबार २५ जना भन्दा धेरै एकै ठाउँ भेला हुन निषेध गरेको थियो। उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल संयोजकत्को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले गरेको उक्त निर्णयको सरकारले नै निरन्तर उलंघन गरिरहेको छ। 

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै २५ जना भन्दा धेरै भेला भएर संसदीय समितिका बैठक चलिनै रहेका छन्। एकजना संक्रमितले एक सातामै करोड भन्दा धेरैलाई संक्रमण गर्न सक्ने कोरोना भाइरसबाट जोगिन सजगता अपनाइरहेको बताइरहेका बेला सिंहदरबारभित्रै चरम लापरवाही देखिएको हो।

सोमबार सिंहदरबार नजिकै रहेको स्वास्थ्य मन्त्रालयले गरेको आकष्मिक पत्रकार सम्मेलनमै उपस्थित स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहितका अधिकारीको संख्या नै २५ आसपास थियो। त्यस पत्रकार सम्मेलनमा बोलाइएका पत्रकारहरुको संख्या त ५० भन्दा बढी।  स्वास्थ्यमन्त्रालयको हलमा बस्‍ने ठाउँ नभएर पत्रकारहरु उभिएर रिपोर्टिङ गरिरहेका थिए भने मन्त्रालयकै अधिकारी पनि बस्ने ठाउँ नभएर उभिएका देखिन्थे।

भीडभाडसहित पत्रकार सम्मेलन गरिएको गुनासो आएपछि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अबदेखि यसको विकल्प खोजिने बताए। बैठकमा निश्‍चित दूरी कायम गर्नुपर्ने नियमको समेत पालना गरेको पाइएन।