समाचार अर्थ

आन्तरिक उडान भने यथावत्

आन्तरिक उडान भने यथावत्

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आइतबार  मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गर्ने भएपनि आन्तरिक उडान भने सुचारु हुनेछन् ।

नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना निकालेर नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको उडान अवतरण चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरिएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसर त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे यही चैत ७ गते साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा चैत ९ देखि १८ गतेसम्मका लागि अन्तरराष्ट्रिय उडान स्थगन हुने जनाएका थिए ।

कुनै पनि यात्रुवाहक जहाज नेपाल प्रवेश गर्न नपाउने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । उनका अनुसार विदेशबाट विनायात्रुको जहाज भने नेपाल आउन पाउनेछन् । यहाँबाट विदेश जाने यात्रुलाई ती वायु सेवा कम्पनीले लैजान सक्नेछन् ।

अन्तरराष्ट्रिय उडान स्थगन गरिए पनि आन्तरिक उडान भने यथावत् रहने महानिर्देशक पोखरेलको भनाइ छ ।