समाचार राजनीति

काठमाडौैं उपत्यकामा पाँच हजार मानिस अट्ने क्वारेन्टाइन

काठमाडौैं उपत्यकामा पाँच हजार मानिस अट्ने क्वारेन्टाइन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेतृत्वको क्वारेन्टाइन स्थल तथा निर्माण तथा व्यवथापन कार्यदलले काठमाडौंै उपत्यकामा तत्काल पाँच हजार मानिस अट्ने क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । 

कार्यदलको आइतबार बिहान बसेको बैठकले सात प्रदेश र महानगरपालिकाले दुई–दुईहजार व्यक्ति अट्ने, उपमहानगरहरूले एक हजार व्यक्ति अट्ने क्वारेन्टाइन स्थल बनाउन कार्यदलले निर्देशन दिएको छ । 

हिमाली जिल्लाका गाउँपालिका, नगरपालिकाहरूले पाँच सय, पहाडीले जिल्लाका नगर र गाउँपालिकाहरूले एक हजार र तराईका पालिकाहरूले दुई हजार क्षमताको क्वारेन्टाइन स्थल बनाउने कार्यदलले निर्देशन दिएको छ ।

उपप्रधान तथा रक्षामन्त्रीको ईश्वर पोखरेल संयोजकत्वमा गठित कोरोना रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको कार्यदलले आज बैठक बसेर क्वारेन्टाइनसम्बन्धी मापदण्ड (प्रोटोकल) को मस्यौदा बनाउने निर्णय गरेको छ ।

भट्टराईको संयोजकत्वमा बसेको कार्यदलले गृह मन्त्रालयको संयोजकत्वमा, स्वास्थ्य मन्त्रालय र चारवटै सुरक्षा निकायले संयुक्तरूपमा मस्यौदा तयार पारी  पेस गर्ने निर्णय गरेको छ ।

टोलीको प्रारम्भिक मस्यौदा, प्रतिवेदन आएपछि सोमबार अर्थ, गृह, सहरी विकास मन्त्रालय र चारवटै सुरक्षा निकाय बसेर बजेट व्यवस्थापनसम्बन्धी कार्य गर्ने भट्टराईले जानकारी दिएका छन् । टोलीले सोमबार बिहान १० बजेसम्म बजेटको खाका प्रस्तुत गरिसक्ने भट्टराईको भनाइ छ ।