खेल

इङ्लिस फुटबल क्लब कार्डिफ सिटीका पूर्वखेलाडी पिटर विटिङ्घमको निधन

इङ्लिस फुटबल क्लब कार्डिफ सिटीका पूर्वखेलाडी पिटर विटिङ्घमको निधन

एजेन्सी। इङ्लिस फुटबल क्लब कार्डिफ सिटीका पूर्वखेलाडी पिटर विटिङ्घमको निधन भएको छ। गत मार्च ७ तारिखमा वेल्सस्थित एक बारमा दुर्घटनामा परी ३५ वर्षीय विटिङ्घम टाउकोमा चोट लागि गम्भीर घाइते भएका थिए।

उपचारका लागि वेल्सकै युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको उनको उपचारकै क्रममा बिहीबार राति निधन भएको छ। साउथ वेल्सको प्रहरीले विटिङ्घमको दुर्घटनाको विषयमा अनुसन्धान पनि गरिरहेको छ। दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा शंका गर्नुपर्ने कुनै तथ्य फेला नपरेको प्रहरीले जनाएको छ।

विटिङ्घमले सन् २००३ मा इङ्लिस क्लब एस्टन भिल्लाबाट खेलजीवन सुरु गरेका थिए। यसबीचमा उनले बर्नली र डर्बी काउन्टीबाट पनि लोनमा व्यावसायिक फुटबल खेलेका थिए। त्यसपछि उनी सन् २००७ देखि सन् २०१७ सम्म कार्डिफ सिटीमा आबद्ध भएका थिए। पछिल्लो पटक उनले सन् २०१७ देखि सन् २०१८ सम्म ब्ल्याकबर्न रोभर्सबाट व्यावसायिक फुटबल खेलेका थिए। उनले कार्डिफ सिटीका लागि चार सय ५९ खेल खेल्दै ९८ गोल गरेका थिए।

विटिङ्घमको निधनप्रति उनका सहकर्मी फुटबल र शुभेच्छुकहरू श्रद्धाञ्जलि अर्पण गरेका छन्। यसैगरी म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सकरले पनि विटिङ्घमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

 

#पिटर विटिङ्घम