कला साहित्य

सोचमग्न आर्यघाट 

सोचमग्न आर्यघाट 

सबिन लामिछाने,

आर्यघाटको प्रांगणमा
आर्यघाट, आफैले 
खरानी पारेर सिन्दूरहरू 
आफैले कति बरखी बारे होलान् ?
कति अर्धाङिनी, मनलाइ
ब्रम्हनालमा सुताएर 
आफैले कति उदासी रोपे होलान् ?

कैयन भविष्यहरू चुँडालेर
कति फूलहरू कुल्चे होलान् 
दुख बारे होलान् 
आर्यघाटका एकएक खुडकिला
कति आँसुले पखालिसके 
बागमतिमा कति रगत मिसिएर बगिसके 
कति आँसु पोखिएर पानी सँगै बगेको बग्यै छ,
कति पीडा बगिरहन्छ, जिन्दगीमा 
आँसु नै आँसुको भेलमा डुबेर

आर्यघाटका एउटा एउटा ढुंगामा 
बिरहका पदछाप कुँदिएको त्यसै होइन 
कति विरक्त लाग्दो हो, आर्यघाटलाई
कति उकुसमुकुस पनि हुँदो हो 
मृत्युको धुँवामा निस्सासिएर 
लासको गन्धमा विरक्तिएर
कति रोइलोमात्र सुनुँ भन्ठान्दो हो ?

कति सपनाहरूको मात्रै दाहसंस्कार भोगुं भनेर 
कति भविष्यहरु खरानी पारुँ भनेर ।
एउटा अतृप्त प्यासले आजित छ सायद,
एउटा गहन चिन्तनमा व्यस्त झैं लाग्छ 
दिनभरको कोलाहल पिएर 

मध्यरातको शून्यतामा आर्यघाट सोच्दो हो कि,
सबै व्यभिचार खरानी पार्न पाए, 
बलात्कार दाहसंस्कार गर्न मिले,
सबै भ्रष्टाचारको अन्तिम यात्राको थालनी भए, 
अराजक ब्रम्हलूट  ब्रम्हनालमा सुताउन मिल्ने भए,
हर्षका आँसुले आर्यघाट पखालिन्थे होला
मलामी मन खुशीले नाच्थे होला 
करोडौं  ताली पडकाउँथे होला ।
के आर्यघाट यस्तै सोचमा सोचमग्न भएकै हो त ?

सोचमग्न आर्यघाट