स्वास्थ्य

कोरोनाविरुद्ध सरकारको कडाइ (निर्णयसहित)

स्कुल, सिनेमा हल, डान्सबार, खेलस्थल बन्द

कोरोनाविरुद्ध सरकारको कडाइ (निर्णयसहित)

सरकारले विश्वभर तीब्ररुपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण नेपालमा फैलिन नदिन विभिन्न १५ बुँदे निर्णय गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले विभिन्न १५ वटा निर्णय गर्दै अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । सरकारले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ l सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’ निर्णय गरेको हो । यसको अनुगमन गृह मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना मन्त्रालयले गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै सरकारले अत्यावश्यक काम बाहेक घरबाहिर आवतजावत र हिँडडुल नगर्न आग्रह गरेको छ । त्यस्तै सरकारले सामाजिक तथा सांस्कृतिक र अन्य तयस्तै कार्यहरुमा २५ जना भन्दा बढी मानिसलाई भेला नगर्न आग्रह गरेको छ । सरकारले गरेका निर्णयको पालना भए नभएकोबारे प्रदेश र स्थानीय तहले अनुगमन गर्ने बताइएको छ ।

त्यस्तै सार्वजनिक यातायातलाई सिट क्षमता भन्दा बढी यात्रु नराख्न आग्रह गरेको छ । त्यस्तै यात्रुहरुलाई पनि बढी भिडभाड गरी यात्रा नगर्न समेत आग्रह गरेको छ । 

 

कोरोना भाइरस