कभर स्टोरी स्वास्थ्य

किड्नीले निम्त्याएको बर्बादी

किड्नीले निम्त्याएको बर्बादी

काभ्रे होक्सेका कृष्णबहादुर बजगाईं २० वर्षअघि कालिमाटीमा भुटेको बदाम बेच्थे आम्दानी प्रशस्त नभए पनि गुजारा चलेकै थियो । रुखोसुखो खाँदै परिवारको गाडी राम्रैसंग गुडेको थियो । कालिमाटीमै आक्कल झुक्कल देखिने एउटा मानिसले अप्रत्याशित उनलाई प्रस्ताव राख्यो– ‘पोखरा घुम्न जाने हो ?’ धेरैका मुखबाट पोखराको नाम सुनेका उनलाई पनि  मुखले मीठो खाने, आँखाले राम्रो हेर्ने मौका चुकाउन मन लागेन । उनले एकछिनपछि भनिदिए– ‘हो, जाने ।’ त्यही पोखरा जाने रहर उनका लागि जीवनभरको पीडादायी शूल बन्यो । न त्यो पोखरा नै आयो, न दुखजिलो गरेर चलेको जिन्दगी नै फिर्ता भयो । 

पोखरा लान्छु भनेको त्यो मानिसले उनलाई भारतको मद्रास पुर्‍याएछ । मद्रासलाई पोखरा ठानिरहे । जुन धेरै पछि मात्र उनले थाहा पाए । त्यहाँ पुगेपछि हिन्दी बोल्नेहरुको बाक्लो उपस्थिति देखेपछि शंका लाग्यो । बजगाईं त्यो दृश्य सम्झदै भन्छन– ‘उसले उज्यालो बत्ती भएका ठाउँमा पुर्‍याउँथ्यो । के गर्थे, कसो गर्थे मलाई कसैले केही भन्दैनथे । एकदिन बेहोशीबाट बिउँझेर हेर्दा आफ्नै शरीर काटेको थाहा पाएँ । त्यसपछि उसले बेलिविस्तार लगायो । मलाई न्याउरी मारी, पछुतो जस्तै भयो । बुद्धि पुगेन । सित्तैमा मेरो मृगौला गयो । १५ दिनको बसाइपछि म घर फर्किएँ ।’

मृगौलासंगै कृष्णबहादुरका अतिसय सपना पनि फालिए । हिजोसम्म परिवारको अभिभावक उनी परिवारकै नजरमा ‘नालायक’ करार हुन थाले । पीरमाथि पीर, ऋणमाथि ऋण थपिँदै गयो । हातमा काम आउन शून्य भयो । बद्नामीको कुरा गरी साध्य रहेन । स्पष्टीकरण दिनुको कुनै अर्थ पनि थिएन । कसैले पत्याए पो ! दारुपानी खान किड्नी बेचेको आरोप लगाउँथे । गल्ती आफ्नै थियो । अहिले उमेरले तीन बीस नाघिसक्यो । काम गर्ने हिम्मत छैन । कोखमा काटिएको घाउको पीडाले उठी सुख न बसी सुख छ । ‘छोरीको घरमा जुठा भाँडा माझेर बसेको छु । नातिनीबाहेक कसैले माया गर्दैनन । छोराछोरी छन तर  हेर्दैनन । अपहेलनाको जिन्दगी बाँचेको छु । सम्पत्तिका नाममा एकमुठी माटो पनि छैन ।’ बह कहँदै बजगाईं भन्छन– ‘यस्तो पीडा त कसैले भोग्न नपरोस् । कतै आश्रय पाए सहर्ष जाने थिएँ ।’

स्थानीय किड्नीलाई ‘गिठ्ठो’ भनेर बुझ्छन् । गिठ्ठो बेच्नेहरुको कथाव्यथा एउटै छ । उनीहरु के दिन, के रात हरेक समय मदिरामा झुलिरहेका हुन्छन् । किन त ? सबैको एउटै उत्तर छ– ‘पीर परेपछि नखाएर के गर्नु ? रातभर निद्रा लाग्दैन । हातमा काम छैन । माया ममता छैन । यदि आफ्नै श्रममा बाँच्ने परिस्थिति बन्ने हो भने हामी एक थोपा पनि खाँदैनौ ।’ त्यसो त मृगौला पीडितहरुलाई वडा कार्यालयले स्वरोजगार बनाउन मौरीको घार, बाख्रापालनतर्फ प्रोत्साहित गरेको बताएको छ । यद्यपि पीडितहरु नपाएको गुनासो गर्न पछि पर्दैनन । 

मृगौला विक्री गरेका अधिकांशको दैनिकी मदिराको विकल्प मदिरा रोज्नु जस्तै भएको छ । उनीहरुले उज्यालो दिनको परिकल्पना गर्न छोडिसकेका छन् । न उनीहरु एक भएर आफ्ना विषयमा गोलबद्ध हुन सक्छन् , न समुदायमा आफ्ना कुरा राख्न नै । बरु उनीहरुमा पश्चाताप र लघुताभाष छ । एउटा पवित्र गाउँलाई ‘मृगौला बेच्ने’ गाउँ बनाएको कलंकको टीका छ । त्यो मेट्टाउने संकल्पमा जुट्ने साहस पनि ती पात्रहरुमा छैन् । थर्थराएको आवाज छ । विश्वास गर्न कठिन लाग्ने धर्मराउँदो प्रतिवद्धता छ । समाजले स्वीकृति नदिएको याचना छ । अर्को पुस्ताले नपत्याउने विगत छ । यसरी उनीहरुको जीवन एकांकी बन्दै गइरहेको छ । 

जुनसुकै कारण होस, मृगौला बेचेका विभिन्न समुदायका केही मानिसको जीवन कठिन छ । अझ भनौं उनीहरु मगन्ते जीवन बाँचिरहेका छन् । अबसर कम, चुनौती ज्यादा छ । काठमाडौं नजिक भएर पनि व्यथामा मल्हम लगाउने दानी पुग्न सकेका छैन । पाएको पर्याप्त छैन । मानवताको दृष्टिले सही, उनीहरुको समस्या निदानका लागि सहकार्यको खाँचो छ । ती थर्थराएका हात र बोलीका निम्ति भरलाग्दो र विश्वासिलो लौरोको आवश्यकता छ । 

काभ्रे मृगौला