भिडियो कभर स्टोरी कला साहित्य

देश बोल्ने कला

देश बोल्ने कला

फाइन आर्टको एउटा विद्यार्थीलाई डेढ दशकअघि लाग्थ्यो– ‘के पेन्टिङ पैसा हुनेहरुको पेवा हो ? पैसा नहुनेले आफ्नो घरको भित्तामा पेन्टिङ झुण्ड्याउने औकात राख्दैन ?’ यो प्रश्नको उत्तर आफैंले सुझायो । हातमा सीप थियो । जीवनको कोलाजभित्र इन्द्रेणी सपना साँचेको थियो । प्रज्ञा र चेत दुवै भएपछि खाँचो थियो– आत्मविश्वासको । 

हो अहिले नगरे कहिले गर्ने, मैले नगरे कसले गर्ने ? यही भरोसाको इन्धन बोकेर त्यो युवा आफ्ना कलाका रंग लिएर काठमाडौंका सार्वजनिक थलोमा मान्छेको भेल छोप्न थाल्यो । विहान पशुपतिनाथ हाताभित्र देखिन्थ्यो त दिउँसो भृकुटीमण्डपको आडमा । कलाको कुनै मोल नराखी आफ्नो रंग बटुवालाई समर्पण गर्ने एउटा इमानी कला साधकको नाम हो– राजु नेपाल । 

भूइँमान्छेलाई समर्पित कलाले उनलाई जनमानसमा परिचय दिलायो । एक दशकअघिको त्यो परिचयले बनाएका शुभचिन्तकहरु अहिलेसम्म जोडिएका छन् । तिनैको घचघचाईले उनको कलायात्राले अहिले पनि निरन्तरता पाइरहेको छ । ‘मेरो पेन्टिङ धेरैका घरमा पात्रो झैं अहिले पनि झुण्डिरहेको छ । देश, विदेश पुगेको छ । विदेश जानेले नेपालको कोसेली भनेर लैजानु हुन्छ । त्यो भन्दा मेरा लागि ठूलो उपलब्धि के होला र ?’ कला साधक नेपाल थप्छन– ‘प्रकृति, नेपाली संस्कार, संस्कृति र हाम्रो समाजबाट लोप हुन लागेका चीजवस्तु मेरो पेन्टिङका विषय हुन् । त्यही भएर नोस्टाल्जियाका कारण पनि मेरा सिर्जना मन पराइएका हुन कि जस्तो लाग्छ ।’

विशुद्ध कलाकारको परिचय राजु नेपालका भाग्यमा धेरै समय टिकेन । नेपालमा पैसा कमाउन पैसा नै चाहिन्छ । त्यहीमाथि पेन्टिङ आफैंमा महँगो पेशा । प्रदर्शन गर्ने क्षमता नभएसम्म कलाकार भएको परिचय बन्दैन । प्रदर्शन गर्न लाखौं रुपियाँ बगाउन सक्नुपर्छ । यसका लागि योग्य नभएपछि तेस्रो विकल्प खोज्ने भाउँतो आइलाग्यो । 

">

छोराछोरीको पढाइमा पैसा बर्साउनु पथ्र्यो । बाबु अलजाइमरको रोगी । आमाको पनि स्वास्थ्य समस्या । एक्लो छोरो । फुटपाथमा हिँड्नेबाट हुने केही हजारको आम्दानीले व्यवहार चल्ने छाँट देखिएन । भावनाले दैनिकी धानिने अवस्था रहेन । एकाएक उनको जीवनले ‘यु टर्न’ लियो । भक्तपुरको गठ्ठाघरमा उनले कुटानी, पिसानी र पेलानीको मिल खोले । त्यो क्षण सम्झदै राजु भन्छन–‘शुरुमा त अत्यास लाग्यो । विस्तारै बानी पर्दै गयो । मिलको कर्कश आवाजले आफूभित्रको सिर्जना खाइदेला कि भन्ने त्रास थियो । अहँ, त्यस्तो भएन । जतिबेला मिलबाट फुर्सद पाउँछु , ब्रस लिएर बसिहाल्छु । मिल चलाउँदा चलाउँदै मस्तिष्कमा चित्रको छवि बसिहाल्छ । रात, विहान केही भन्दिन, समय पायो कि रंग खेलाउन थालिहाल्छु । अझ मेरा कला पारखीहरुले अब तपाईंले यस्तो चित्र बनाउनुपर्छ भनेर हौस्याउनु हुन्छ । यस्तो प्रतिकूल अवस्थामा सिर्जना गर्न सकेको भनेर कतिले प्रशंसा गर्नुहुन्छ ।’

भनिन्छ, मेहनती मानिस झारबाट पनि मह बनाउन समर्थ हुन्छ । राजुका हकमा यो उक्ति मेल खान्छ । मिलको आँखीझ्यालबाट पनि नेपालको समकालिन कलालाई चिहाएका छन् । दशकअघि गाईजात्राको अवसरमा आफूले बनाएका व्यंग्यचित्रको सान्दर्भिकताको दायरा साँघुरिनु पर्नेमा झन्झन् बढ्दै गएकोमा उनको मन भारी भएर आउँछ । अर्कातिर कलापारखीहरुले सलादजस्तै मिलेको समाज, विकासप्रतिको सकारात्मक आशय बोकेका चित्र खोज्दा भने उनलाई केही ढाड्स मिल्छ । 

">

उनका दुई सन्तान मध्ये छोरा आईटी इन्जिनीयर छन् । कलाप्रति सकारात्मक सोच त छ, तर बाबुको बिँडो थाम्ने सम्भावना कम छ । छोरी बाबुको सिर्जनालाई माया मात्र गर्दिनन, स्केच बनाउँछिन । तर कमाइ कम, निष्ठा बढीको यो पेशामा नयाँपुस्ता टिक्लान भन्ने उनलाई लाग्दैन । आमा भने राजुसंग औधी प्रसन्न छन् । त्यसो त राजुले आफ्नो कलाक्षेत्रको पहिलो गुरु नै आमालाई मानेका छन् । किन त ? उनले उत्तर दिए– ‘म भक्तपुरको गुन्डुमा जन्मिएको मान्छे । मैले सुनेको तर नदेखेको विषयमा चित्र कोर्न मन लाग्ने । त्यसको फाइनल टच आमाले दिनुहुन्थ्यो । उहाँले भनेका कुरालाई चित्रमा उतार्थें । त्यो चित्र खोटरहित हुन्थ्यो । अहिले जस्तो त्यो बेला युटुबको जमाना थिएन । मेरो कलालाई वस्तुनिष्ठ बनाउने श्रेय आमालाई जान्छ ।’

राजु नेपालका चित्र सूचना र समाचार पनि हुन् । उनी चित्रकै माध्यमबाट ट्रलीबस नासिएको, मासिएकोमा असन्तुष्टि पोख्छन् । धरहरा ढलेकोमा चिन्ता गर्छन् । काठमाडौं उपत्यकाको सांस्कृतिक धरोहर संरक्षणका लागि आव्हान गर्छन् । उनका चित्रले हिमाल, पहाड र तराईका जनताको मनोदशा बोलेको हुन्छ । उनी आफ्नो तस्वीरको आत्मा नै यसैलाई मान्छन् । 

भविष्य के हुन्छ ? त्यो त अनिश्चित छ । तर राजु चित्र नबनाई एकछिन बस्न सक्दैनन, त्यो चाहिँ निश्चित छ । चित्र बनाउन उत्सुक पुस्तालाई अहिले पनि उनले सकेको मद्दत गर्ने गरेका छन् । समय र परिस्थिति मिले एउटा एकल चित्रकला प्रदर्शनीको  धोको छ ।

">  

फाइन आर्ट राजु नेपाल
ADVERTISEMENT