विचार

ओठमा लाली, पेट खाली  

ओठमा लाली, पेट खाली  

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले सहयोगीलाई बोलाएर  आफू विरुद्ध लेख्ने पत्रकारहरुको सूची तयार गर्न अर्‍हाए । आलोचक पत्रकारहरुको सूची तयार भयो । फेरि जारले हुकूम दिए–‘छानिएका मध्ये कट्टर आलोचकहरुको अर्को सूची तयार गर ।’ सहयोगीहरुले त्यसै गरे । ‘के यिनीहरुलाई आजीवन कारावासको सजाय सुनाउने हो ?’  सहयोगीहरुको प्रश्नमा अनपेक्षित उत्तर दिँदै जारले भने– ‘होइन । यी मध्ये तीनजनालाई छानेर मेरो सल्लाहकार परिषद्को सदस्यमा मनोनित गर्ने । जो कट्टर आलोचक छन, ती मेरा सही सल्लाहकार हुन् ।’ 

कुखुराको चल्ला चोरी, हाडनाता करणीको आरोपमा जेल परेकाहरुले कैदी जीवनलाई चलाखीपूर्वक प्रजातान्त्रिक संघर्षको बलिदानमा अनुवाद गर्दा राजनीति मेनपावर व्यवसायभन्दा माथि उठ्न सकेन । राजनीति ती प्राणीका कारण बिटुलियो, जसले गाईको सिङले हानेको शरीरको खत निरंकुश शासकले दिएको यातनासंग जोडेर आफूलाई हिरो प्रमाणित गर्ने दुस्साहस गरे । थुनिनु, कुटिनु, पिटिनु आधारभूत योग्यता बन्यो । राजनीतिक परिवर्तनलाई अनादर गरेको नठानियोस् तर राजनीतिक क्रान्तिमा सहादत प्राप्त गर्नेहरुको पृष्ठभूमि हेर्दा पनि थाहा हुन्छ– हाम्रो परिवर्तनको जमिन कति मजबुत छ ?

राजनीतिको ‘र’ नबुझेका गोलीको शिकार बनेका छन् । तिनैको सपना साकार पार्नमा केन्द्रित राजनीतिले त्यो सपना चिनियाँ लिपिजस्तै नबुझिने बन्यो । त्यसैले प्रत्येक जनक्रान्ति मानव भीडमा सीमित भयो । सहिदहरु प्रत्येक वर्ष पात्रोमा फेरिने तस्वीरका पाहुनाजस्ता भए । राजनीतिमा अनास्था पैदा गर्नमा सञ्चारमाध्यमले केही हदसम्म भूमिका निर्वाह गरेकै हुन । पहिले नेता पुल्पुल्याउने पछि डस्ने रोगबाट सञ्चारजगत ग्रसित छ ।

नेताहरुलाई बस्त्रहीन बनाएर त्यसको मनोरञ्जन लुट्ने काइदामा लागेको नेपाली सञ्चार क्षेत्र एकपछि अर्को कठिन यात्रामा छ । नेताहरु पछ्याउनुलाई समाचारको कारखाना ठान्ने मूलधारको पत्रकारितालाई सामाजिक सञ्जालले पानी पिउन नपाउने गरी पछारेको छ । ब्रेकिङ, स्कूप एकादेशको कथा बनेको छ । युटुबरहरुले एक महिनाअघि उठाएका समाचार एक महिनापछि दैनिक अखबारका खुराक हुने गरेका छन् ।

अनलाईन समाचार फेसबुकको पेजमा बिकाउको साइत हेरेर बसेका छन् । समाचारका स्रोतहरु आफ्नै एकाउन्टबाट समाचार सार्वजनिक गर्न हतारिएका छन् । मूलधारमा काम गर्ने पत्रकार समयमै तलब नपाएर रुवाबासी गरेका भेटिन्छन् । युटुबरहरु लाखौं रुपैयाँको गड्डी बोकेर मानवताको मल्हम लगाउने प्रतिस्पर्धामा छन् । को कतिबेला कसरी उम्दा प्रतिभा भएर जन्मन्छ भन्ने कसैले पूर्वानुमान गर्ने अवस्था छैन् ।

जन्मदै तीनपाते प्रतिभा भएर उम्रिने गरेका छन् । खरायो र सिंहको कथा कण्ठ गरेर सधैं एउटै लिकमा समय चल्छ भन्ने स्थायी अन्तरामा बाँचेको मिडियाका उद्योगीले आत्मनिरीक्षण गर्नुपर्ने दिन आएको छ । आकासको मौसमी बद्ली र नेपाली राजनीतिको समीकरण, ध्रुबीकरणलाई एउटै चश्माबाट हेर्ने संस्कृतिमा बद्लाव आउन जरुरी छ । थुप्रै अंग नभएका उद्योग चलाएर एउटा चौथो अंगको चिर्कटो सम्हालेको अहंमा यहाँ फेरि अर्को काउन्ट बिटी जन्मिएला र त्यसको सल्लाहकार हुने सपना कुनै उद्योगीले नदेखे हुन्छ । 

बजारको आवश्यकताभन्दा लाज बचाउने धोतीमा उपयोग भएका मिडियाले ‘ओठमा लाली, पेट खाली’का जनशक्ति उत्पादन गरे । पिपिली लाईभको व्यंग्यले भारतीय सञ्चारक्षेत्रलाई झकझकायो तर नेपालमा फोटोकपी संस्कृति हावी भयो । ६ महिनाको ज्याला साहुकोमा धरौटी राखेर ज्ञान, बुद्धि र विवेकको सिंगो महामानवमा  आफूलाई प्रस्तुत गर्दा तिनीहरुको हैसियत टकिङ टमभन्दा माथि उठेन । बरु टीभीमा नदेखिँदा, पत्रिकामा बाइलाईन नलेख्दा र एफएममा नचिच्याउँदा सृष्टि टक्क रोकिन्छ भन्ने भ्रमले बास गर्‍यो । सरकारी हण्डी खाएर सरकारलाई दिनरात गाली गर्नुमा बहादुरी ठान्नेहरुको योग्यता अब विस्तारै पत्रुकारितामा अनुवाद हुँदैछ ।  

जसरी अन्य पेसामा लागेर कुस्त पैसा कमाएपछि केही व्यक्ति मान, प्रतिष्ठाका लागि सञ्चारमा लगानी गर्न ओइरिए, त्यसैगरी सञ्चारक्षेत्रमा अल्मलिएको नयाँपुस्ताले सोच्नुपर्ने बेला आएको छ । प्रवेशमा सजिलो र इज्जत आर्जनको लोभमा यता लहसिएको त्यो पुस्ता सीपमूलक काम सिकेर त्यो सीप नेपालमै बेच्न सक्ने स्थितिमा रहन सक्छ । यदि कामलाई ठूलो सानोमा वर्गीकरण नगर्ने हो भने कपाल काट्ने नाईंहरु चाडपर्वमा घर फर्कंदा काठमाडौंबासी जोगी हुनुपरेको छ । प्राविधिक जनशक्तिको नेपालमा कति महत्व छ भन्ने उदाहरण हो ।

खेप गएपनि जिन्दगी जाँदैन । त्यसैले सम्भावना बोकेका सञ्चारकर्मीहरु आफूले आफैंलाई पुनरावलोकन गरी पेसागत पुनर्निर्माणको कसीमा जोखिन जरुरी छ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका भाइ चीनमा मजदूरी गर्छन् । खोइ, ओबामाको इज्जतमा धब्बा लागेको छैन त । दलको साइनोसंग जोडेको कलमले एकदिन धोका दिन्छ । चोरेर जीविका चलाउनेले पनि चोरीलाई घृणा गर्छ । प्रकृतिको एउटा नियम के छ भने सम्भावनाको बाटो कहिल्यै समाप्त हुँदैन । 

एउटा काल थियो– काँच या सिनेमाका पर्दामा देखिने जति सबै हिरो दरिन्थे । अब पर्दामा देखिनेले न्याय गर्नुपर्छ भन्ने संसारको सर्वमान्य सत्यले जितेपछि मानिसहरु सचेत भए । कुनै दिन यही भूगोल हो– धर्मराज थापाले चौतारीमा गीत उराल्दा भात छड्काउँदै गरेका भान्से, गाई चराउँदै गरेका गोठाला र घाँस काट्दै गरेका खेताला दौडन्थे ।

मुक्तिको आवाज घन्काउने राल्फा नाममा दुई चार ठिटा गिटार बोकेर गामघर डुल्दा उनीहरुले प्रशस्तै श्रोता पाएकै हुन् । मनोरन्जनका साधनको सीमितताका कारण त्यो अवसर जुरेको हो । अब सूचना कोच्याउने जमाना गए । मानिसको हातमा लाखौं रोजाइ छन, जो संसारको जुनसुकै कुनाबाट छिनका छिन रोजी रोजी हेर्ने, सुन्ने क्षमता प्राप्त छ । सुनेको, जानेको, देखेको राम्रो लाग्ने जमानालाई नयाँ आएको आविष्कारले विरानो बनाउँदै लगेको छ ।  

गल्ती भन्ने जान्दाजान्दै नेपाली मिडिया भारतीय सञ्चारको बाटोमा लाग्यो । विहान उठेदेखि बेलुका सुतेसम्म आँसुको विकल्पमा आँसु प्रस्तुत गरेर अझै थाकेको छैन । नेपालको भूकम्पपछि अमेरिका र जापानमा गएको भूकम्प अनि आँधीले त्यहाँ पनि धनजनको क्षति गर्‍यो ।  तर त्यहाँका मिडिया अहँ आँसुमा खेलेनन् । यसको मतलव यो हैन कि त्यहाँका मान्छेभित्र आँसु हुँदैन । बाँच्नेहरु मरेर बाँच्नु हुँदैन भन्ने सत्यबाट उनीहरु निर्देशित छन् । प्रकृतिले प्रत्येक मान्छेका लागि आफ्नै खालको प्रारब्ध तोकेको छ ।

यदि सतिलाई धार्मिक मान्यतासंग नजोडेर नघचेटिएको भए पतिसंगै आगोमा जल्नेहरु नगन्य हुने थिए । आवेग अन्तिम सत्य भइदिएको भए एउटाको अन्त्यसंगै जोडिएर आत्मदाह गर्नेहरुको भीडले मानव सभ्यता उहिल्यै नामेठ हुने थियो । अहिले भोगेको विपत्तिप्रति घोत्लिेने हैन कि भावी पुस्तालाई यस्तो दुर्दिन देख्न नपर्ने अवस्थाको संकल्प अहिलेको आवश्यकता हो ।

२०१५ सालमा आफू    प्रधानमन्त्री भएपछि बीपी कोइरालाले कम्युनिष्ट पृष्ठभूमिका पत्रकार मदनमणि दीक्षितलाई सरकारको आलोचना गर्ने सर्तमा महिनाको  ६ सय दिएर ‘समीक्षा’ को प्रकाशन आरम्भ गराएका थिए । त्यतिमात्र होइन, सहज ढंगले दर्ता नगरिने त्यस परिस्थितिमा पत्रिका दर्ताको सम्पूर्ण प्रक्रिया पनि आपैंmले मिलाइदिएका थिए ।

पाका पत्रकार दीक्षितले आफ्नो आत्मवृत्तान्तमा पत्रिका प्रकाशनको औचित्य पुष्टि गर्दै भनेका छन्– ‘मुलुकको प्रधानमन्त्री, संसदीय प्रजातन्त्रको स्तम्भ र जहाँनिया शासनको अवशिष्ट रुढिवादी शक्तिका विरुद्ध कोइरालाका विचार  अनि व्यवहारलाई समर्थन गरिनेछ ।’ अंकगणितमा १, १ जोड्दा २ हुन्छ । तर राजनीतिमा १, १ को योगफल प्रायः ११ हुन्छ । अघिल्लो पुस्ताका राजनीतिज्ञहरु यो सत्यसंग भलिभाँती जानकार थिए । 

शासन सत्ता हातमा लिएका महेन्द्रले पनि उत्तर दक्षिणका दुई छिमेकीसंग हेपिनु नपर्ने अवस्था ल्याउन केही रणनीतिक चालबाजी रचेकै हुन् । त्यसको शुरुवात उनले पहाडेलाई तराईमा बसाइँ झारेर गरे । पहाडेलाई तराई झर्नमा बन्देज लगाउनु पर्छ सम्मका आवाज उठिरहेको वर्तमान पृष्ठभूमिमा राजा महेन्द्रले त्यो सन्तुलित बसोबास प्रारम्भ नगरेको भए अहिले मुलुकले कस्तो अवस्था झेल्नु पथ्र्यो होला ।

सहज अनुमान गर्न सकिन्छ । यतिमात्र हैन, दरबारकै संरक्षण र लगानीमा केही रेडिकल कम्युनिष्टहरुलाई अप्रत्यक्ष उचालेर उनले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई ठीक लगाउने सूत्रको प्रतिपादन गरे । तर आफ्नै ढोके, हुक्के, चम्चे, बैठके र छातेहरुको असहयोगको शिकार बनेका तिनै राजाको अवसान रहस्यमय ढंगले भयो । पञ्चेका नाममा हुनु नहुनु, गर्नु नगर्नुका काम तमाम भए । बद्नामी राजाले खेप्नु पर्‍यो । राजा वीरेन्द्रले बाबुले कोरेकै बाटो त पछ्याए । अवधारणालाई नविकरण गर्न सकेनन् । अचाडूहरुले मधेश र पहाडको त्यो घाउ बल्झाइरहेका छन् ।

सुडानका जनता आफ्नै देशमा भारीका भारी सुन त बोक्छन् तर त्यो सुन कस्को हो र, कहाँ जान्छ थाहा पत्तो हुँदैन । कामना गरौं, यो घडीमा धमिलो पानीमा माछा मार्नेहरुले कतै त्यही गर्तमा नधकेलून ।

बीपी कोइराला काउन्ट विटी