भिडियो Breaking News कभर स्टोरी

शेरबहादुरको थकथकी : ती दुई कानुन बनाउन पाए  (भिडियोसहित)

शेरबहादुरको थकथकी : ती दुई कानुन बनाउन पाए  (भिडियोसहित)

सत्तारुढ दल नेकपाका सांसद एवम पूर्व मन्त्री शेरबहादुर तामाङले मुलुकलाई भ्रष्टाचारको रोगबाट जोगाइ विकास र समृद्धिको मार्गमा लैजान शासकीय स्वरुपमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । 

नेपाल आजसंगको विशेष कुराकानीमा नेता तामाङले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुको विकल्प नभएको बताए । अहिले मुलुकमा संविधान संशोधनको चर्चा चलिरहेकाले संविधान संशोधन नै गर्ने हो भने यी दुई मुद्दामा गर्न आवश्यक रहेको उनले बताए । 

तामाङ भन्छन्, ‘ यी दुई विषयमा संविधान संशोधन गर्न सकियो भने सरकारको स्थायित्व मात्र होइन सुशासन कायम गर्न पनि मद्दत पुग्छ । अहिले सांसदहरु जनताप्रति होइन चुनावमा भएको खर्च कसरी उठाउने भन्नेमा मात्र केन्द्रीत छन् । यो सोचले भ्रष्टाचारलाई मलजल गरेको छ । यसलाई रोक्ने उपाय भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै हो । ’

अहिले नेकपा भित्र देखिएको आन्तरिक द्वन्द्व केही दिनमै समाधान हुने तामाङको दावी छ । पार्टीमा व्यक्तिवादी सोचको विकास भएको स्वीकार गर्दै उनी भन्छन्, ‘ सबैलाई मेरो पोजिसन के हुने भन्ने चिन्ता छ । आ–आफनो हैसियतको मात्र ख्याल गर्ने प्रवृतिले केही समस्या देखिएको हो । चिन्ता बामदेव र युवराजको मात्र होइन, यहाँ हजारौं कार्यकर्ताको व्यवस्थापनको कुरा छ । सचिवालयमा देखिएको विवाद त्यसैको एउटा प्रतिविम्ब हो । ’

यदि पार्टीमा कसैले कसैलाई सिध्याउन षडयन्त्रको तानाबाना मात्र बुनिरहेको छ भने त्यसको त गम्भीर छानबिन गर्नुपर्छ । यस्तो प्रवृति भएकालाई त पार्टीमा पनि राख्नु हुँदैन ।

जहाँसम्म प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दा पार्टी र सरकारको के हुने भन्ने छ त्यसमा चिन्ता गर्नुपर्ने केही छैन । प्रधानमन्त्रीको इच्छा शक्ति यति बलियो छ कि आधा काम त त्यसैले गर्छ । प्रधानमन्त्री छिटो भन्दा छिटो काममा फर्केर पार्टी र सरकारलाई गति दिनेमा पार्टी विश्वस्त छ । 

आफू सरकारमा हुँदा कुनै घटना विशेषका कारण राजीनामा दिनु परेकोमा पछुतो र गुनासो नभएपनि एक दुईवटा काम भने गर्न नपाएकोमा उनलाई थकथकी लागेको छ । मुख्यतः सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन सम्बन्धी कानुन र सार्वजनिक खरिद ऐनको संशोधन गर्न नपाउँदा उनी दुःखी छन् । 

आफनै पार्टीका साथीहरु कानुन मन्त्री हुँदा पनि उनले आफनो चाहना पूरा गर्न सल्लाह दिन सकेका छैनन । नेपालमा सल्लाह लिएर काम गर्ने संस्कार नै नभएको उनको गुनासो छ । हरेक मान्छे पदमा पुगेपछि आफूलाई सर्वज्ञानी ठान्ने रोगबाट ग्रसित हुने कुरा आफनो पार्टीका नेताहरुमा पनि लागु हुने उनी बताउँछन् ।