समाचार खेल

थ्री स्टारलाई हराउँदै पुलिस फाइनलमा

थ्री स्टारलाई हराउँदै पुलिस फाइनलमा

विभागीय टिम नेपाल पुलिस क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

पुलिसको जितमा निर कुमार राईले दुई गोल गरे । यस्तै भरत शाहले एक गोल थपे ।

साविक विजेताविरुद्ध खेलको आठौं मिनेटमा भरतले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पुलिसले दुई गोल थप्यो । दुवै गोल निर कुमारको नाममा रह्यो ।

खेलको ५१ औं मिनेटमा निरले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ७२ औं मिनेटमा निरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-० को सहज जित दिलाए ।

पुलिसका निर म्यान अफ दि म्याच चुनिए ।

अब पुलिसले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।

सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।