मनोरञ्जन

फ्राईडे रिलिज : बक्सअफिसमा ‘साङ्लो’ र ‘सेल्फी किङ’को भिडन्त

फ्राईडे रिलिज : बक्सअफिसमा ‘साङ्लो’ र ‘सेल्फी किङ’को भिडन्त

काठमाडौं – शुक्रबारबाट दुई प्रतिक्षित नयाँ नेपाली सिनेमाले प्रदर्शनको सुरुवात गरेका छन् । विराज भट्ट निर्देशित र अभिनित ‘साङ्लो’ र विशाल सापकोटाको डेव्यु निर्देशित सिनेमा ‘सेल्फी किङ’ बक्सअफिसमा आमने सामने भएका हुन् । विराज जय परशुराम पश्चात नेपाली सिनेमामा कमव्याक भएका कारण पनि साङ्लो दर्शकको प्रतिक्षामा रहेको छ । भने, हरेक सिनेमामा फरक गेटअप र उत्कृष्ट अभिनय क्षमता भएका अभिनेता विपिन र सिनेमाले उठान गरेको विषयवस्तु कारण सेल्फी किङ चर्चामा छ ।

‘साङ्लो’ र ‘सेल्फी किङ’ को जनरा फरक भए पनि एकसाथ रिलिज भएका कारण व्यवसायिक रुपमा दुवै सिनेमालाई घाटा हुने निश्चित छ । किनकि, एकै मितिमा एकभन्दा बढी सिनेमा रिलिज हुँदा दर्शक र हल संख्या बाँडिन्छ । ‘साङ्लो’ मा अभिनेता विराज भट्ट एक्सन अवतारमा प्रस्तुत छन् भने ‘सेल्फी किङ’ मा अभिनेता विपिन कार्कीले हास्यकलाकारको भूमिका निभाएका छन् ।

सिनेमामा उनको जोडीको रुपमा पूर्व मिस नेपाल निकिता चाण्डक छिन् । सिनेमाले मृगौला तस्करीको कथा भन्छ । निर्माताले ठूलो शेयर हात पार्ने मल्टीप्लेक्सहरुमा सिनेमा ‘साङ्लो’ले पर्याप्त सोज पाएको छैन । मल्टीप्लेक्सको ठूलो चेन भएको हल क्युएफएक्सले सिनेमालाई २० शो दिएको छ । हुनत, ‘साङ्लो’ सिंगल थिएटर केन्द्रित सिनेमा हो । विराज सिंगल थिएटरमा रुचाइएका अभिनेता हुन् । त्यसैले पनि सिनेमाले मल्टीप्लेक्समा भन्दा सिंगल थिएटरमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । मल्टीप्लेक्समा कम सोज पाए पनि सिंगल थिएटर भने प्रायः ‘साङ्लो’ कै कब्जामा छ ।

‘सेल्फी किङ’ले भने मल्टीप्लेक्समा पर्याप्त सोज पाएको छ । क्युएफएक्सले सिनेमालाई ३५ शो दिएको छ । बुधवार राजधानीमा आयोजित प्रिमियरमा सुखद प्रतिक्रिया बटुलेको सिनेमालाई दिनेश राउत र सुभाष थापाले निर्माण गरेका हुन् । कमेडी जनरामा निर्माण भएको फिल्ममा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ। सिनेमामा अभिनेत्री केकी अधिकारीले एक गीतमा नृत्य गरेकी छन् ।

ADVERTISEMENT