समाचार राजनीति

गोकुलमाथि आरोप पनि छैन, मुद्दा पनि छैन : प्रधानमन्त्री

गोकुलमाथि आरोप पनि छैन, मुद्दा पनि छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीबाट कमिसन खाएको प्रमाणित नभएको बताएका छन्।  काठमाडौंमा बिहीबार आयोजित बागमती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले बाँस्कोटामाथि कमिसनको आरोप लागेकाले उनले पद छाडेर छानबिनका लागि बाटो खोलिदिएको पनि बताए। 'गोकुल बाँस्कोटाले कमिसन खाएको प्रमाणित छैन। स्वीसवाला कम्पनीले पनि होइन भनेको छ। कमिसनको बार्गेनिङ गरेका विजयप्रकाश मिश्र पनि आफूहरुको एजेन्ट नभएको दूतावासले भनिसकेको छ', उनले भने, 'आफ्नो नाममा बात लागेकाले उनले राजीनामा गरेको हो। भ्रष्टाचार गरेको प्रमाणित भएझैँ गरेर अशिष्ट टिप्पणी गरियो। दोष अनुसारको सजाय भोग्छन् गोकुलले तर अहिले उनीमाथि आरोप पनि छैन, मुद्दा पानि चल‍ेको छैन।'

उनले सेक्युरिटी प्रिन्टर प्रकरणमा भ्रष्टाचार गरेको भन्दै आफूविरुद्ध पनि अख्तियारमा उजुरी परेको प्रसंग कोट्याए। 'मेरो पनि नाममा उजुरी हालेको रहेछ अख्तियारमा, त्यो उजुरी काम नलाग्‍ने पत्रु उजुरी हो भन्‍ने स्वत:सिद्ध भएको छ', उनले भने।