विचार

नोट गन्न जान्ने नेता

नोट गन्न जान्ने नेता

नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका  शीर्ष नेताहरुबीच मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने विषयमा बैठक बसिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली गोकुल बाँस्कोटा, प्रचण्ड कृष्णबहादुर महरा र शेरबहादुर देउवा विजय गच्छदारको पक्षमा जबर्जस्त उभिएपछि बैठक भाँडियो । बैठकले ‘आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’को रुप धारण गरेपछि चलाख प्रधानमन्त्री ओलीले बैठकलाई जाँड पार्टीमा रुपान्तरण गरिदिए । अनि त बैठकको दृश्य एकाएक रसरङमा परिवर्तन भयो ।  

शेरबहादुर देउवा : के भने देखिनलाई मेरो नेता बीपी यस्तो बहादुर हुनुहुन्थ्यो कि महाकाली नदीमा डुबेर कर्णाली नदीबाट फुत्त निस्कनुहुन्थो । 

पुष्पकमल दाहाल : तपाईंका नेता के बहादुर मेरा नेता माओको त कुरै बेग्लै । पानी ट्यांकीमा पसेका माओ धाराको टुटीबाट निस्कनुहुन्थ्यो । 

केपी ओली : तपाईंहरुका कुरामा पटक्कै दम भएजस्तो लागेन । लौ सुन्नुस् मेरा नेता मदन भण्डारीका बालाई एक पटक यस्तो भुंग्रे ज्वरो आयो मदनकी आमा बाको गालामा हरियो मकै पोलेर परिवारलाई ख्वाउनुहुन्थ्यो । 

बिग्रिएको घडीले पनि दिनको दुईपल्ट एकुरेट समय बताउँछ । तर बद्लिएको व्यवस्थाका नबद्लिएका नेताहरुले जिन्दगीभर आफ्नो नामबाहेक अरु केही साँचो बताउने भएनन् । यी प्राइभेट लिमिटेड पार्टीका महाप्रबन्धकहरुले सहमतिको आवरणमा यस्तै तोरीलाउरे गफमा वर्षौंदेखि समय मिल्काइरहँदा देश अस्थिपञ्जर बन्दै गइरहेको छ । पहिला पहिला सरकारी बैंकहरुमा नोगजा (नोट गर्न जान्ने) एउटा पद थियो । नेपालका हरेक निकायका मुखियाले अघोषित रुपमा नोट गन्न जान्ने कारोवारी राखेका हुन्छन् । यो वा त्यो व्यवस्था र व्यक्तिको विषय नभएर यो खुल्ला सत्य हो । पुलिसको चौकी इन्चार्ज–आईजीपी, डिठ्ठा–प्रधानन्यायाधीश, वडा सदस्य–प्रधानमन्त्रीसम्म यो मामलामा कोही निरपेक्ष छैनन् ।

काम गर्न सजिलो या नैतिक मर्यादाका कारण नभई आफू अनुकूलको किलो गाड्न यस्ता कसरत हुने गरेका छन् । गोकुल बाँस्कोटा ओलीका नोट गन्न जान्ने प्रतिनिधि हुन् । प्रचण्डका कृष्णबहादुर महरा र शेरबहादुर देउवाका विमलेन्द्र निधि यही कोटीका पात्र हुन् । यिनीहरु महादेवको घाँटीमा बेरिएको सर्पजस्ता हुनुको कारण स्वामीभक्ति नै हो । जब एउटा वडा सदस्य पदमा बाजी मार्न लाखौंको सौदा गर्नुपर्छ भने देशभरिका कार्यकर्ताको मुखिया हुने काम नेताहरुका लागि सजिलो छैन् ।

राष्ट्रिय पार्टीको हेडसर हुनु भनेको सानोतिनो राष्ट्र बैंकको शाखाले चलाउने बराबरको आर्थिक औकात राख्नैपर्छ । नेपालमा एउटै मान्छे उम्रेदेखि खुम्रेसम्म किन पार्टीको शासक बन्छ भन्ने प्रश्नको उत्तर यही मनोविज्ञानसंग गाँसिएको छ । विहान नेतासंग भत्ता बुझेर दिउँसो सदाचारको नारा दिने कार्यकर्ताबाट पालित पोषित लोकतन्त्र नै त हाम्रो असली परिचय हो ।

ओली, दाहाल र देउवा यस्ता पात्र हुन, जो आफ्नो ताज बचाउन अरबमा सौदा खेल्न सक्छन् । अरबौं हान्न सक्छन् । करोडौं बाँड्न सक्छन् । ती पार्टीका अरु नेतामा यो कौशलता शून्य छ । त्यसैले रोग, भोक र शोकले जति गाँजेपनि उनीहरुको साम्राज्य एकछत्र छ । माधव नेपालको इतिहास बैंक जागिरेबाट शुरु भएपनि उनी कुशल म्यानेजर कम, खजाञ्ची ज्यादा देखिए । रामचन्द्र  पौडेलको क्यालकुलेटरले हजारभन्दा माथिको हिसाब गर्नै जान्दैन ।   

नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टी नेताले घोषित अघोषित शैलीमा सघाएका छन् । यो महाअभियानलाई कसैले बोलेर सघाएका छन् भने कसैले मौन बसेर । जसरी फलाम आफूभित्रै निस्कने खियाबाट सखाप हुन्छ, त्यसरी नै देशलाई अधोगतितर्फ लान यहीँका गतिविधि जिम्मेवार छन् । अरुलाई दोष दिनु भनेको आफ्नो कमजोरी छोप्ने धृष्टता शिवाय केही होइन । इतिहास साक्षी छ– राजा त्रिभुवनका सेक्रेटरी गोविन्दनारायण भन्ने भारतीय नागरिक थिए ।

त्यसबेला तराईका पाठशालामा हिन्दी भाषामा पढाई हुन्थ्यो । देशभर भारतीय मुद्राको विनिमय सहज थियो ।  प्रत्येक मन्त्रालयमा भारतीय नागरिक सल्लाहकार थिए । प्रधानन्यायालयको स्थापना भारतीय नागरिक हरिप्रसाद प्रधानलाई प्रधानन्यायाधीश बनाएर गरिएको थियो । उत्तरी चेकपोष्ट भारतीय सुरक्षाकर्मी राखिएका थिए । प्रत्येक मन्त्रालयमा भारतीय सल्लाहकार थिए । अरु त अरु मन्त्रिपरिषद्को बैठकमा समेत भारतीय दूतको उपस्थिति रहन्थ्यो । अहिले यी निकायमा नेपालीको प्रतिनिधित्व छ ।

सार्वभौम नेपाली जनताले जिताएर पठाएकाले सरकार चलाएका छन् । देश विदेश पढेका उम्दा प्रतिभाहरु राष्ट्रसेवक छन् । भाषा, साहित्य, संस्कृति समृद्ध छ । चेतनाको स्तर कोहीभन्दा कम छैन । तर दलालीको प्रतिशतको पारो यसरी बढेको छ कि त्यो घोषित अवस्थालाई अहिलेको अघोषित अवस्थाले लाभाले जस्तै खग्रास बनाएको छ । तिनै भारतीय भनिने हरिप्रसाद प्रधानले सर्वोच्च अदालतको मानमर्दन गरेको अभियोगमा डिल्लीरमण रेग्मीजस्ता राजनीतिज्ञलाई ६ महिनाको जेल सजाय सुनाएका थिए ।

चार पासेले ढपक्कै ढाकेको प्रधान न्यायालयमा कानुनमा स्नातक नगरेकालाई अयोग्य करार गरी न्यायालयको प्राज्ञिक मर्यादा माथि उठाए । विवाहित छोरीलाई सन्तान नठान्ने कानुन खरानी बनाएर छोरीलाई अपुताली सम्पतिको हकवाला बनाए । काम गर्ने नागरिकताले नभएर नियतले हो । सात दशकअघि न्यायालयमा गरिएका यस्ता सुधार कसैका लागि अनुकरणीय भएन । बरु कानले हेरेर न्याय दिने सम्वेदनशील ठाउँका न्यायमूर्तिहरुको नियुक्तिको मापदण्ड  पावर, पैसा र राजनीतिक प्रभावलाई बनाइयो । न्यायालयमा रोपिएको विषवृक्षमा फलेको फलले विरुवा हुर्काउने नर्सरीवालाहरु नै शिकार बन्ने निश्चित छ । त्यो बेला निलकण्ठ विष आफूले खाएर कल्याण गर्ने महादेव यो धरामा निस्कने छैनन् ।  

राजनीतिभित्र पसेको राक्षसी सोचका कारण आज हरेक सर्वसाधारण दिनमा दर्जनौं पटक मरेर बाँच्न बाध्य छन् । कलेजका प्राध्यापक कुटिएका छन् । हाकिमलाई पियनले लघारेका छन् । प्राध्यापकहरु आफ्ना छोरा उमेरका तिते भुराको अपमान सहन बाध्य छन् । देउता खुसी पारेर पेट भर्ने पुजारी देउतैको मूर्तिको मोलमोलाईमा उम्लिएका छन् । चालकहरु पाखा लागेका छन, हरेक गाडीको स्टेयरिङ खलाँसीले समाएको छ । अस्पतालमा रोगी भर्नाका लागि समेत सोर्स लगाउनु पर्छ । जताततै न्याय मरेको छ । सत्यको पक्षमा बोल्नु भनेको अपराध गर्नु हो भन्ने बुझाइले आम मानिसमा  घर गर्दै गएको छ ।

अबोलाको पीडा बोल्ने सञ्चार जगत समाचार कम, त्रास बाँड्न व्यस्त छ । त्यही भएर देशका ठूला मिडिया हाउसभन्दा युटुब चलाउनेहरुमाथि जनताको भरोसा बढ्दो छ । केपी ओलीले उर्दी लगाउँदा सय रुपियाँ नझिक्नेहरु भाग्य न्यौपाने, कृष्ण कँडेल, शिशिर भण्डारीजस्ता युटुबमार्फत सूचना सम्प्रेषण गर्नेहरुलाई लाखौंको पोको जिम्मा लगाउन थालेका छन् । हो, आत्मनिरीक्षणको खाँचो यहीँ छ । पहिला सित्तैमा समोसा खान पत्रकार बन्नेहरु थिए भने अहिले त्यो गोरखधन्दामा अनुवाद भएको छ ।  कार्यकर्तालाई बेइमानीको बरदान दिएर आफू  भगवान शिवको कोटीमा पुगेको भ्रममा मख्ख परेका नेता आखिर भस्मासुर ज्यादती भोग्न बाध्य भएका छन् ।   

अरु त अरु राजनीतिक अराजकताको प्रभाव नेपाली भाषामा पनि परेको छ । प्राज्ञिक समुदायको विशिष्ट थलो मानिने प्रज्ञा प्रतिष्ठानले निकालेको बृहत शब्दकोषबाट धेरै शब्दावलीको चिरहरण भएको छ । कुखुराको फुल र गुलाफको फूल समान बनाइएको छ । एक वर्षअघि त्यही शिक्षकले पढाएको नियम घोकेका विद्यार्थी एक वर्षपछि सरले नियम बदल्दा रणभूल्ल परेका छन् । यसरी खेलाडी नालायक भएको दोष खेलको नियम फेरेर कमजोरी लुकाउने नौलो संस्कृति हावी बन्दै गएको छ । जब नेताहरु पुलिसको सुरक्षा र साइरनमा आपूmलाई अभ्यस्त गराउँछन, त्यो दिनदेखि उनीहरुको पतन शुरु भयो भनेर जाने हुन्छ ।

देशमा नैतिकता र राष्ट्रियताको चुरो कमजोर बन्दै गएपछि मानमर्दनका खेल स्वाभाविक बन्दै जान्छन् । नेता श्रद्धेय, बन्दनीय बन्न राष्ट्रियताको जग मजबुत हुनुपर्छ । चारवटा गणले छेकिएका राजा वीरेन्द्र र रानी क्षतविक्षत भएर मारिए । तर उनीहरुको सुरक्षामा बसेकाहरुले प्रतिकारमा तिहारमा पड्काउने जत्रो पड्का पनि पड्काएनन् । आफ्नै आँखाले यस्तो कटु सत्य देखेका, भोगेका नेताहरुका लागि एउटै मात्र जीवन सूत्र हो– नैतिकता । नेताले लोकप्रिय बन्नुपर्छ, चर्चित होइन । जनताका नेतालाई घरबास चाहिँदैन । उनीहरुलाई आफ्नो  मजेत्रो ओढाएर जनताले चिसो तातोबाट बचाउँछन् । उरुग्वेका राष्ट्रपति जोस मुजिका यति सरल छन, तीनवटा कुकुर र दुईजना पुलिसको सुरक्षामा बस्छन् । जीर्ण फर्म हाउसमा बास बस्ने उनी कुवाबाट आपैंm पानी भर्छन । कपडा आफैं धुन्छन् । फूलको खेती आफैं गर्छन् । असल हुने मान्छे हो, पद होइन ।

अमेरिकाजस्तो वैभवशाली राष्ट्रका तात्कालिन राष्ट्रपति जोन अफ केनेडी देशको पैसा जोगाउन चिट्ठीको खाम थुक लगाएर बन्द गर्थे । अरु देशमा पनि राजनीति अस्थिर छ । मान्छे मारिएका छन् । श्रीलंकामा डेढ लाख मानिस मारिए । अफगानिस्तान, पाकिस्तान, इजरायल जताततै मान्छे मारिएका छन् । भीडन्त भएका छन् । तर त्यहाँको शिक्षा र प्रशासन संयन्त्र अलिकति पनि हल्लिएको छैन् । सानो देश भएर के भो, श्रीलंकाको शिक्षा एशियामै उत्कृष्ट छ । हाम्रो चाहिँ देशका सम्पूर्ण संयन्त्र खरानी पार्नैपर्ने, आखिर किन ? 

महाभारत युद्ध सकिएपछि हस्तिनापुर राज्यमा शान्ति र अमन चयनको अपेक्षा सवैमा थियो । युद्धमा मारिएकाहरुका लालाबाला, विधवाका पीडामा जित्नेहरुले मलम पट्टी लगाउलान भन्ने भरोसा थियो ।  तर परिस्थिति सोचेभन्दा ठ्याक्कै उल्टो भयो । युद्ध जितेकाहरु एकाएक वैराग्यको वशीभूत भए । युद्धपछि स्वर्णराज्य बनाउलान भनी आशा गरिएका युधिष्ठिरमा एकान्तवासको इच्छा प्रवल बन्दै गयो । महाभारत युद्धका शूत्रधार श्रीकृष्ण युद्ध मैदानमा जसरी सुरिए, राज्य सञ्चालनमा भने मौन बसे ।  महारानी गान्धारीले घटनाको जिम्मेवार ठहर्‍याउँदै श्रीकृष्णलाई वंश विनासको श्राप दिइन । आश्चर्य वीर श्रीकृष्णले श्रापप्रति मौन स्वीकृति जनाए । उनी यो जञ्जाल र दायित्वबाट मुक्त हुने बाटोको खोजीमा थिए ।  

आफैंले मारेका कौरव पक्षीय योद्धा कर्ण सहोदर दाजु भएको रहस्य खुलेपछि युधिष्ठिर द्रवित भए । प्रचण्ड महाभारतका किंकर्तव्यविमूढ पाण्डव पात्रजस्तै बन्न पुगेका छन् । पार्टीका हुक्के, ढोके, चम्चे, छातेहरुको कुतर्के प्रतिवादलाई कान थुनेर उनको अन्तरआत्माको आवाजको मूल्यांकन गर्ने हो भने उनी महाभारत अन्त्यपछिको श्रीकृष्णजस्तै जोक्कर भएका छन् । जसरी युगपुरुष श्रीकृष्ण गान्धारीको श्रापलाई समेत शिरोधार्य गर्ने अवस्थामा पुगे, त्यसरी नै प्रचण्डमाथि पनि बाग्लुङका व्यापारीको सेते घोडा चोरीदेखि राष्ट्रिय सम्पति रित्याउने सम्मको आरोप लागेको छ ।

गाउँ त के एक चपरी पनि दिन नमान्ने कौरव शैलीका शासकबाट राज्य सत्ता थुत्न सफल माओवादीका लागि राज्य प्राप्ति भोको बाघलाई मासु पैंचो लगाएजस्तै भयो । झ्याल  र जस्केलाबाट पसी दूध घोप्ट्याएर उपद्रो मच्चाउने कांग्रेस एमालेको विरालो शैलीलाई उछिनेर माओवादीले मूलढोकाबाटै पसेर ढुकुटीमा धावा बोल्यो । नेताहरु चरम विलासी बन्दै गए । सिसाको घरमा बसेर गिट्ठा, भ्याकुर, क्रान्ति गफमा जनता भुलाउने उनीहरुको खेल दिन दुईगुना, रात चारगुनाका दरले बढ्दै गयो । राजामहाराजालाई सामन्ती भन्दाभन्दै कार्यकर्ताका नजरमा नेताहरु महासामन्ती बन्दै गए । नेताहरुको जीवनशैली, आहारविहार बद्लियो ।

सातु र ठेटना मकैबाट शुरु भएको इतिहास पपकर्न र काजुकिसमिसतर्फ रुपान्तरण भयो । राजनीतिमा जसले बढी जाली कुरा गर्नसक्छ, त्यो ठूलो नेता बन्ने नजिर स्थापनामा सवै दलका नेताहरुलाई प्रतिस्पर्धामा उतार्न प्रचण्ड सफल भए ।  नेताहरुले आफूले जे गर्‍यो, त्यसैलाई लोकसम्मत ठान्ने अहं नत्यागेसम्म फलाममा लागेको खियाले फलाम सिध्याएजस्तै हरेक दलका नेता आफ्ना  कार्यकर्ताको कठघराबाट मुक्त नहुने निश्चित छ । आजसम्म सधैं, सवैलाई कसले पो झुक्याउन सकेको छ र ? 

नेपाल कम्युनिष्ट पार्टी नेपाली काँग्रेस