भिडियो Breaking News पर्यटन कभर स्टोरी

महाशिवरात्रि र पशुपतिनाथको महत्व ( भिडियोसहित) 

महाशिवरात्रि र पशुपतिनाथको महत्व ( भिडियोसहित) 

संस्कृति सम्बन्धी अध्येता भरत शर्माका अनुसार महाशिवरात्रिको दिन शिवको आराधना गर्ने हो । सबैले महाशिवरात्रिको दिन आ–आफनो नजिकको शिवालयमा पुगी शिवको दर्शन गर्ने, शिवको भक्ति गर्दै भजन कीर्तिन गरे मनमा शान्ति हुन्छ । मनको शान्तिका लागि भगवान शिवको आराधना गर्ने हो । 

महाशिवरात्रि र शिवको प्रसाद भन्दै भाङ, धतुरो तथा गाजा सेवन गर्नु विकृति हो । यसलाई नियन्त्रण गर्नुपर्छ । पछिल्लो केही वर्षयता पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको बेला हुने लागु औषधको प्रयोग र कारोवारलाई निरुत्साहित गर्न अभियान नै थालेको छ । यो राम्रो पक्ष हो । 

जहाँसम्म साधु सन्तको कुरा छ उनीहरुलाई भगवान शिवका प्रतिनिधिका रुपमा लिइन्छ । उनीहरुलाई थोरबहुत भाङ धतुरोको सेवनमा छुट दिंदा समस्या हुँदैन । तर, सामान्य मान्छेले पनि शिवको प्रसाद भन्दै लागु औषधको सेवन गर्ने कुरा ‘फेसन’ जस्तै भएको छ । यसलाई त रोक्नुपर्छ । 

गत वर्ष भन्दा यो वर्ष महाशिवरात्रिमा भारतीय भक्तजन घटेका छन् । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणबारे नेपाली र भारतीय संचार माध्यमले गरेको अतिरञ्जतापूर्ण प्रचारको अशर महाशिवरात्रिमा परेको शर्माको ठम्याइ छ । 

नेपालको चीनको छिमेकी राष्ट्र भएकाले नेपालमा पनि कोरोना संक्रमणको जोखिम उच्च भएको प्रचार देश विदेशमा भएको छ । यसको अशर भ्रमण वर्ष २०२० मा परिरहेको छ । यसपटक महाशिवरात्रिमा भारत, मलेशिया, अमेरिका लगायतका देशबाट आउने भक्तजन ह्वात्तै घटेका छन् । 

कोरोना भाइरसकै कारण यसपटक चीनले कैलाश मानसरोवारको यात्रा रोक्ने सम्भावना प्रबल छ । यदि कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएन भने तीब्बत सरकारले कैलाश मानसरोवारको यात्रा रोक्ने लगभग निश्चित जस्तै छ । 

यसपटकको महाशिवरात्रिको राम्रो पक्ष भनेको यसको भव्य सजावट रहेको छ । भारतको मद्रासबाट आएका दुई जना शिव भक्तले आपसमा मिलेर पशुपतिनाथमा विशेष सजिसजावट गरेका हुन् । उनीहरुले २ करोड रुपैयाँ खर्च गरी सम्पूर्ण सामग्रीको बन्दबस्तो र सजावटको काम आफै गरेका छन् । 

विगतका वर्षभन्दा पाशुपत क्षेत्रको सरसफाइ, पूर्वाधार निर्माण र यसको व्यवस्थापनमा निकै सुधार आएको छ । पशुपति क्षेत्र विकास कोषले पनि राम्रो काम गरिरहेको छ । समस्या के हो भने मानिसहरु नकारात्मक प्रचार मात्र बढि गर्छन्, त्यो राम्रो होइन ।

शर्मा भन्छन्, ‘ म त भन्छु पाशुपत क्षेत्रलाई प्रेम पार्कका रुपमा विकसित गर्नुपर्छ । यो भनेको भगवान शिव र पार्वतीले विचरण गरेको क्षेत्र हो । यहाँ आउने सबै भक्तजनले आपसमा कुरा गर्ने, भावना आदानप्रदान गर्ने, घुम्न तथा आरामले बस्न पाउने व्यवस्था गर्नुपर्छ । यो सबै प्रेम हो । कोही प्रेम जोडी आउलान्, कोही परिवारमा आउलान, कोही पर्यटक लिएर आउलान....सबैलाई प्रेमपूर्वक समय बिताउने वातावरण बनाउनुपर्छ ।’