अर्थ

समितीलाई नै टेर्दैनन समस्याग्रस्त सहकारी

समितीलाई नै टेर्दैनन समस्याग्रस्त सहकारी

काठमाडौँ। बचतकर्ताको रकम हिनानिमना गरी समस्यामा परेका समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई नै सहकारीका सञ्चालकले अटेर गर्दै अएका छन् । समितिले ओरिएन्टल को–अपरेटिभका सुधीर बस्नेत समितिले बोलाउँदा एकपटक पनि उपस्थित नभएको जनाएको छ ।

समस्याग्रस्त १२ वटा सहकारीमध्ये केहीले राजनीतिक आडमा समितिलाई अटेर गर्दै आएका छन् । छलफलका लागि बोलाउँदा पनि सञ्चालकहरूको दादागिरी चल्ने गरेको समितिको गुनासो छ । जसका कारण समिति गठन भएको दुई वर्ष हुँदा पनि अहिलेसम्म एउटा पनि सहकारीको समस्या हल भएको छैन । बचतकर्ताले पनि आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् ।

समितिमा सहकारीबाट समस्यामा परेकाको दैनिक भीड लाग्छ तर समिति गठन भएको दुई वर्षसम्म पनि पीडितले राहत पाउन सकेका छैनन् । सहकारी विभागले समस्याग्रस्त सहकारीको पहिचान गरी विवरण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउँछ । मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरी निर्णय भएपछि समस्याग्रस्त सहकारी मानिन्छ । 

उक्त सहकारीबारे सहजकर्ता तथा व्यवस्थापनको काम समितिले गर्छ । हालसम्म १२ वटा सहकारी समस्याग्रस्त सहकारीको सूचीमा छन् । तर यी सहकारीले के कति रकम हिनामिना गरेका छन् ? र कति बचतकर्ताको बचत जोखिममा रहेको छ भन्ने तथ्याङ्क समितिसँगै छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् । 

सहकारी समिती