विचार

डियर कमरेड, रियल कमरेड       

डियर कमरेड, रियल कमरेड       

कुनै एक मन्त्री खुसी हुँदै मिठाई बाँडिरहेका थिए । यो दृश्य देखेर मन्त्रीका एक साथीले सोधे–  तिम्रो छोरो त जाँचमा फेल भयो र पनि तिमी कुन खुशीयालीमा मिठाई बाँडिरहेका छौ ? प्रश्न झर्न नपाउँदै मन्त्रीले उत्तर दिए– मेरो छोरो फेल भो त  के बिग्रियो ? कक्षाका सम्पूर्ण ५० जना विद्यार्थी मध्ये २० जनाले मात्र पास हुने मौका पाए । जबकि ३० जना फेल भए । यस अवस्थामा आखिर बहुमत त मेरो छोराकै पक्षमा छ । म यही खुशीलाई बाँड्न मिठाइ ख्वाइरहेको छु ।’

यो कुनै आरोप, पूर्वाग्रह र व्यंग्य होइन । राजनीतिलाई समावेशी बनाउने नाममा  नीति निर्माण तहमा अयोग्य मानिसको भीड बढाइएपछि देखिएको परिणाम हो । संविधान बनाउने नाममा राज्य अनुमोदित भेडीगोठमा भएका कुकर्म संझदा पनि कुरीकुरी लाग्ने अवस्था छ । नयाँलाई मौका दिनु भनेको आफ्ना हुक्के, ढोके, चम्चे, चण्डमुण्डलाई राज्यको राजपाट सुम्पनु होइन भन्ने चेत नेताहरुमा कहिल्यै आएन ।

राज्यका संवेदनशील निकायहरु राम्रा हैन, हाम्रा मान्छेले भरिने प्रतिस्पर्धा बढेको छ । अयोग्य मानिसलाई आँक्न नसक्ने अवसर दिइयो भने अवसर दिने र पाउने दुवैको हित हुँदैन । राजनीतिमा कागजी चिर्कटोको नभएर इमानको मूल्य हुन्छ । पद्मशमशेरले पनि आफूलाई राष्ट्रको नोकर त भनेकै थिए नि, तर उनी कति नोकर प्रमाणित भए <

इतिहास साक्षी छ– सीडीओ कुट्ने करिमा बेगम राजनीतिक मैदानमा एकादेशकी कथा भइसकिन तर कुटाई खाने दुर्गाप्रसाद भण्डारीको जागिरे साख घटेन । आठ पासे साथीलाई नेपाल वायुसेवा निगमको सारथी बनाउने खड्गबहादुर विश्वकर्मा साथीसंगै विलाएका छन् । ‘क’ दुब्लायो भनेर रुने कालिदास प्रवृत्तिका कथित नेताहरु मन्त्री बनाइए । कोही राष्ट्रसंघका वक्ता भएर अंग्रेजीका धुरन्धर हुन खोजे । आखिर रंगाइएको विरालो बाघ कसरी हुन सक्थ्यो र ? म्याउ गरिहाल्यो । नजान्नेको उपचार छ । तर जान्दछु भनेर सपार्नु त परै जाओस् , भएको पनि सिध्याउने अतिवादीहरुको उपचार छैन ।

भाषा नजान्नु अपराध होइन । आजकल संसारका अधिकांश भाषा अनुवाद गर्ने सफ्टवेर बनेका छन् । नेपाल नै नटेकेको विदेशी उहीँ बसेर ‘रेसम फिरिरि’ गाउने कुशल गायक बनेका उदाहरण छन् । तर योग्यता, साधनाले नभएर जनयुद्धमा बास बसेको, जेलमा भात बोकेको, नेतालाई विना व्याज ऋण दिएको, विदेश जाँदा आतेजाते टिकट काटिदिएको जस्ता नाताका आधारमा राजनीतिमा प्रवेश पाएकाहरुले राजनीतिलाई कमाउको साधन बनाएका छन् ।

अर्काथरि छन्– आस्था, निष्ठा, इमान्दारी भगवानलाई चढाएर नाफाको व्यापार गर्न पल्किएका सुकिला मुकिलाहरु । आफ्ना सन्तान युरोप, अमेरिकामा स्थापित गराइसकेपछि बाँकी जीवन पिकनिकमा विताउन स्वदेश बसेका यिनीहरुले ‘जनयुद्धको मनोविज्ञान’ अनुसार नेताहरुलाई काम गर्ने रोडम्याप तयार गरिदिने गरेका छन् । यिनै थिए, जसले राजा ज्ञानेन्द्रलाई उकासेर टिभीमा समाचार पढाउन लगाए । यस्तैको तोरीलाहुरे गफमा भुल्दा नेताहरु रंग छुट्याउन नसक्ने भएका छन् ।

राजा त्रिभुवन आफ्ना आसेपासेहरुसंग भन्थे रे– ‘हाम्रा जनता जाबो दूध भात पनि खान पाउँदैनन त ?’ उनी त राजा भए केही हदसम्म यस्तो फन्टुस बुझाई पनि ठिक्कै होला रे ! तर हिजोसम्म कोदाको ढिंडोका भरमा जीवन घिसारेकाहरु कोदो र तोरीको अन्तर छुट्याउन नसक्ने भएपछि चाहिँ राजनीतिको बेथितिले धेरैलाई पोल्न थालेको हो । अहिलेकै दृश्यले बताउँछ– डियर कमरेड भित्र, रियल कमरेड बाहिर पर्दै आएका छन् । 

विश्वका प्रख्यात राजनीतिज्ञहरुले शिक्षाको शुरुवात कितावबाट होइन, कोक्रोबाट गरेका छन् । अब्राहम लिंकन स्कुलका प्रिन्सिपललाई चिट्ठी लेखेर आफ्नो सन्तानलाई व्यावहारिक ज्ञान दिलाउन आग्रह गर्थे । भारत स्वतन्त्रतापछि पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले जेलबाट छोरी ईन्दिरा गान्धीका नाममा पठाएका पत्रको पुस्तक नै छापिएको छ । जुन चिट्ठी ईन्दिरा गान्धीको राजनीतिक शुरुवातीको आधारस्तम्भ नै ठहरियो । बीपी कोइरालाले पनि जेलबाट नै छोरी चेतनालाई पत्र लेखेका थिए । जुन पत्रमा उनले ज्ञान, विज्ञान, समाज र संस्कृतिका विषयमा जानकारी गराएका थिए ।

अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको किस्सा नै अलग छ । उनी प्राथमिक कक्षामा पढ्थे । एकदिन स्कुलले उनीहरुलाई शैक्षिक भ्रमणका लागि अमेरिकी राष्ट्रपति बस्ने भवन ह्वाईट हाउस घुमाउन लगेछ । विद्यार्थीहरुले चाख मानी मानी ह्वाईट हाउसको सम्पूर्ण कक्षको अवलोकन गरेछन् । घुमघाम सकिएपछि ह्वाईट हाउस कस्तो लाग्यो ? भनेर अनुभव लेख्न एउटा पुस्तिका दिइएछ । साना बालबालिकाहरु कसैले के लेखे, कसैले के लेखे । त्यसै मध्येका बालक केनेडीले लेखेछन– ‘भविष्यमा म आएर बस्ने ठाउँ ठिकै रहेछ ।’ भविष्य द्रष्टा तिनै बालक कालान्तरमा अमेरिकाको राष्ट्रपति भए ।  

ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान । ज्ञानले बाँच्ने कला सिकाउँछ । तर सूचनाले फन्टुस गफ गर्न । यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता हावी बन्दै गइरहेको छ । कानमा लगाइएको सुनले आफ्नो विज्ञापन गर्दैन । त्यसको सौन्दर्यपान मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ । हो, साँचो शिक्षा पनि त्यही सुनको गहनाजस्तै हो । 

नीति, नियम, शिक्षा समाजको पिछडिएको व्यक्तिलाई लक्षित गरिन्छ । कक्षाको सवैभन्दा नजान्नेलाई लक्षित गरी पढाइएको शिक्षा सार्थक हुन्छ । कक्षाको उत्कृष्ट छात्रलाई लक्षित गरिएको शिक्षाले कसैको हित गर्दैन । तर अहिले लायक बनाउन सन्तानका लागि गरिएको लगानी आफैंलाई नालायक प्रमाणित गर्ने काममा खर्च हुने गरेको छ । एकप्रकारले शिक्षा नजानिदो धोकाजस्तै भएको छ ।

यदि देशको राजनीति सुल्टो गतिमा अघि बढाउने नियत राखेको भए शिक्षा र स्वास्थ्यलाई जनताको आधारभूत अधिकारको रुपमा स्थापित गरिनुपथ्र्यो ।समावेशीका नाममा सुन र पित्तल गिजोल्ने काम नगरेर शिक्षा र स्वास्थ्यमा सवैको पहुच पुर्याउने काम हुनुपथ्र्यो । सपथ ग्रहण गरेलगत्तै शिक्षामन्त्री दरबार हाइस्कुल र पद्मोदय स्कुल पुगेर शिक्षाको विकासमा इमान्दारीको संकल्प गर्नुपथ्र्यो । जनताका छोराछोरीलाई शिक्षाको उज्यालो दिएका यस्ता ऐतिहासिक शैक्षिक प्रतिष्ठानलाई देशका गौरव बनाइनुपथ्र्यो । मेरो छोरो, भतिजो, नाति दरबार स्कुलमा पढ्छ भन्दा गौरवले छातीको आयतन बढ्ने अवस्था आउनुपथ्र्यो ।

त्यही पद्मोदय स्कुल पढेका सूर्यबहादुर थापा, कमल थापा, भोजराज पोखरेल, अच्युतकृष्ण खरेल  राष्ट्रिय व्यक्तित्व बनेका छन् । यस्ता सवल जनशक्ति उत्पादन गर्ने विद्यालयलाई आज नोकर चाकर पढाउने दुर्गतिको स्कुल किन बनाइयो ? कोहीसंग छ यसको उत्तर ।  दुर्गम जिल्लामा डाक्टर नपुगेको समाचार आएको दशकौं भइसक्यो । नेपालमै वर्षेनी सयौं डाक्टर उत्पादन हुन्छन । आखिर किन दुर्गम भेगमा स्वास्थ्योपचार महगो भयो त < उत्तर स्पष्ट छ– डाक्टर बनिदैन, बनाइन्छ । लाखौं रुपैया चन्दा दिन नसक्नेहरु जतिसुकै योग्य भएपनि डाक्टर नहुने भएपछि यो समस्या सधैं  ज्यूँ का त्यूँ  रहने पक्का छ ।

अहिले पनि टोनी हेगनले ५ दशकअघि कोरिदिएको दस्तावेज नेपाली भूगोलको आधिकारिक आधार बन्दै आएको छ । त्यसपछि डोरबहादुर विष्ट र हर्क गुरुङले पुरै देशको भ्रमण गरेर सामाजिक, आर्थिक, राजनीतिक अवस्थितिको लक्ष्मणरेखा कोरिदिए । गुरुङले देशलाई चालीस जिल्लामा घटाएर आर्थिक सन्तुलन मिलाउन दिएको योजनासहितको सल्लाह राजनीतिक पूर्वाग्रहमा परेर नासियो । गृष्मबहादुर देवकोटाले लेखेको राजनीतिक इतिहासलाई  ‘पञ्चायती’ भनेर टिप्पणी गर्नेहरु त निस्किए तर त्यसको विकल्प दिने हिम्मत गर्ने अर्को सर्जक जन्मिएन ।

राजा महेन्द्रलाई तानाशाही भन्नेहरुको उत्ताउलो हुल देखापर्‍यो तर त्यस्तै राष्ट्रवादी सोच भएकाहरु देखिएनन् । धरहरालाई पुड्को बनाउन त्यो भन्दा अग्लो र मजबुत अर्को संरचना बनाइनुपर्छ । तर  नयाँ  पनि नबनाउने, पुरानोको अस्तित्व पनि नस्वीकार्ने अनौठो रोगले नेपाली  समाज ग्रसित बन्दै गएको छ । 

सीप होइन गफाडी जन्माउने शिक्षाका कारण समाजबाट सभ्यता र संस्कृतिका अमूल्य सम्पदा हराउँदै गएका छन् । गाउँमा खर र टालीले छाएका घर भेटिन छोडेका छन् । समुदायमा उपयोग हुने डोको, नाम्लो, दाम्लो, डालो, हलो बनाउनेहरु पछिल्लो पुस्तामा आइपुग्दा दुर्लभ बनेका छन् । बचेका भनेको पनि अघिल्लो पुस्ताको नासो मात्रै हो ।

शिक्षाले यी विषयलाई नसमेट्दा पुरै समाज न गरी खानु, न मरी जानुको अवस्थामा धकेलिदैछ । देशको ४० लाख युवा जनशक्ति आफ्नो घरखेत बाँझो राखेर विदेशी भूमिमा जीविकाको लडाइ लडिरहेको छ । आफ्नो घरखेतमा हलो जोत्दा लाज हुने युवाहरु खाडीको मरुभूमिमा स्वाभिमानसाथ उटको लिदी सोरिहेका छन् । भेडाको बथानमा हिँड्दा हिँड्दा मानव सभ्यता भुलिरहेका छन् ।

हलो पनि धान्न नसक्ने, ट्याक्टर पनि चलाउन नपुग्ने अधमरो अवस्थामा समाज रुमलिएको छ । यस्तो गम्भीर विषयमा निरपेक्ष बसेर नेताहरुले देशलाई साँच्चै धोका दिएका छन् । उमेरमा भएको जाँगर  विदेशी भूमिमा खर्चिएपछि भोलि फर्किने रस चुसेको उखुजस्तो जनशक्ति कुन काममा उपयोग हुने हो ? त्यसको उत्तर कसैसंग छैन ।

राजनीतिक परिवर्तनका हरेक गतिविधिमा युवाको सक्रियता निर्णायक रहने गरेको छ । तर आन्दोलन सफल भएको भोलिपल्टदेखि उनीहरुको भूमिका दृश्यबाट बिलाउने गरेको छ । ढुंगा हान्न सन्काउने, अनि हानिसकेपछि थन्काउने धोकापूर्ण सौदाबाजी नेपालको राजनीतिमा चल्दै आएको छ । विश्वका राजनीतिक रंगमञ्चमा अब चालीस ननाघेकाले राजनीतिको बागडोर हाँक्ने परिपाटी बसिसक्दा हामी भने जिम्दारी राजनीतिकै चक्रमा घुमिरहेका छौं । न नयाँ  पुस्ताले खोस्ने साहस राख्छ, न अघिल्लो पुस्ताले छोड्ने उदारता नै ।

मन्दिर आकार ठूलो, सानो हुनुले अर्थ राख्दैन । सरोकार भनेको देउता कति विश्वसनीय छन् भन्ने हो । झूटले सत्यलाई दुख दिन त सक्छ तर परास्त गर्न सक्दैन । क, ख, एबीसीडी बनाउनेहरु पक्कै पनि निरक्षरी थिए । तर तिनै अपठितहरुले बनाएको बार्‍हखरी पढेर आफूलाई स्वघोषित मूर्धन्य ठान्नेहरुले न ए अगाडि केही पत्ता लगाउने सके, न ज्ञ पछाडि केही खोज्न सके । शिक्षा मुलुकको सभ्यता हो । कुन देश कति समृद्ध छ भनेर जाँच्ने कसी भनेको त्यो देशका नागरिक कति शिक्षित छन् भन्ने हो ।

अहिले हाम्रो मुलुकमा खड्किएको मुख्य विषय भनेको नागरिक शिक्षा हो । राज्यबाट निर्देशित नियमको डोरीले सवै नागरिकलाई नबाँधेसम्म मनपरीतन्त्र नरोकिने निश्चित छ । राजनीतिक दलहरुमा बढ्दो दलाली र नागरिकमा सञ्चार भएको अराजकता दुवै लाभदायी छैनन् । राजनीतिशास्त्रले भन्छ– नागरिक सधैं ठीक हुन्छन् । तर प्रश्न उठ्छ– ६० वर्ष उमेर नाघेको हजुरबा दुई रुपियाँ सस्तोका लागि नातिमार्फत पाएको विद्यार्थी परिचय कार्ड बोकेर सार्वजनिक यातायातमा देखा पर्छ भने त्यो पनि नागरिक कर्तव्य त अवश्य भएन । यस अवस्थामा नागरिकले पनि त आफूलाई सच्याउनु पर्छ नि हैन र ?

डियर कमरेड रियल कमरेड