स्वास्थ्य

बाथरुमले यसरी पनि लिन सक्छ ज्यान

बाथरुमले यसरी पनि लिन सक्छ ज्यान

काठमाडौँ। बानेश्वरका एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सदैनन् । त्यही समय ठूलो पाठ सिकाएको छ उनलाई ।

अधिकारी भन्छन “जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ । तातो पानी खोलेँ । सानो बाथरुम भएकाले त्यसमा धेरै बाफ जम्मा भएर म त नुहाउँदा नुहाउँदै निसास्सिएँ, त्यसपछि केही पत्तो भएन । ”

धन्न उनकी बहिनी पनि नुहाउन हतार भएकाले बाथरुममा आइपुगिन् र बाहिरबाट ढोका खोलेर एलिनालाई निकाल्ने काम भयो । समयमै बाहिर आएकाले ज्यान पनि बच्यो, नत्र जे पनि हुन सक्थ्यो ।

राजधानीका धेरैजसो घरमा बाथरुम सानो हुने र भेन्टिलेसनसमेत नहुने भएकाले यस्तो समस्या आउने गरेको छ । अधिकारीले थपे “त्यो घटनापछि बाथरुमको झ्यालमा पर्दा हालेर भेन्टिलेसन हालेको छु । ” बाथरुममा लडेपछि गणित पढाउने शिक्षक रामनाथ चापागाईंलाई प्यारालाइसिस भयो ।

छ महिनापछि अलिअलि हिँडडुल गर्न सक्ने भएपछि उनले विद्यार्थीलाई घरमै बोलाएर पढाउन थाले छ । उनि भन्छन , “हामीले सामान्य सुरक्षामा ध्यान नदिँदा ठूलो घटना निम्त्याउन सक्छ । त्यसैले बाथरुम, ट्वाइलेट सधैँ सफा र सुरक्षित राख्न जरुरी छ ।

चिसोको समयमा झ्यालढोका बन्द गरेर हिटरलगायत विभिन्न सामग्री प्रयोग गरेर सुत्दा मानिसको ज्यान जाने गरेको डा. श्रेष्ठ बताउँछन् । कोठामा जम्मा भएको ग्यास बाहिर जान नपाउँदा मानिसको ज्यान जाने गरेको उनले बताए ।

झ्याल खोलेर मात्र हिटरलगायत विद्युतीय सामान प्रयोग गर्न उनको सुझाव छ । सुरुमा टाउको दुख्ने र केही समयपछि निसास्सिएर मानिसको मृत्यु हुने गरेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् । 

ADVERTISEMENT